कमाई

धन त त्यति सजिलो थिएन,
निधो गरेँ मान्छे कमाउने।

मीठो बोलेँ,
मुस्कान देखाएँ,
हात फैलाएँ,
पैताला मिलाएँ,
नजर जुधाएँ,
मन पराएँ,
समाधान सुझाएँ,
र, सधैँ
हो मा हो थपेँ।

कयौँ झुट बोल्नुपर्‍यो
असहमति लुकाई,
गल्ती बेवास्ता गरेँ
आफ्नै मुटु दुखाई।
आफू भन्दा पहिले
अरूको बारे सोचेँ।
कति कलङ्कहरूसँग
अन्जान भए झैँ,
पर्दा पछाडिका कर्तुत
थाहा नपाए झैँ,
संवादमा लुकेका ईर्ष्या
ध्यानै नदिई,
गरिरहेँ असफल कोसिसहरू
मनहरू जित्ने।
मलाई नजिकबाट चिन्नेहरूले
मेरो गलत व्याख्या गरे,
र नचिन्नेहरूले विरोध।

जब अकस्मात,
मैले आफूलाई जान्न पाएँ
र म हिँडेको बाटो पनि।
खराब कुरामा
तितो बोलेँ।
दुख लाग्दा
रोइदिएँ।
म भित्रको 'म'
बाहिर ल्याएँ,
जस्ताको त्यस्तै।
'म'को 'हो'लाई हो भनेँ
'होइन'लाई होइन भनेँ

झुट बोलिन,
असहमति देखाएँ।
गलत कुरामा
प्रश्न तेर्साएँ।
पर्दा पछाडिका कलङ्कहरू
संवादमा ल्याएँ।
अरूलाई असर नपारी,
पहिले आफ्नै बारे सोचेँ।
दुस्मनको ठिकलाई
समर्थन गरेँ,
मित्रको बेठिकलाई
आपत्ति।
तैपनि,
मलाई नजिकबाट चिन्नेहरूले
मेरो गलत व्याख्या गरे
र, नचिन्नेहरूले विरोध।

बल्ल महसुस भयो,
मान्छे कमाउन भन्दा
पैसा कमाउन सजिलो रहेछ।।


Previous Next

نموذج الاتصال