एउटा कविता तिम्रो लागी

तिमी बिछट्टै फरक छौ 
यति फरक कि
असल र खराब
तिमीसँग मिल्दैन ।
ठिक र बेठिक
तिमीभन्दा अलग छ ।
स्थिर वा अस्थिर
तिमी होइनौ ।

तिमी बिछट्टै फरक छौ 
यति फरक कि
तिमीलाई दुस्मन या मित्र
भन्नै मिल्दैन ।
न हौ,
आफन्त या पराई ।
तिमी मेरो आफ्नै हौ
र होइनौ पनि ।

ए प्रिय,
म तिमीबिना खुसी हुन
सक्दै सक्दिन
न त तिम्रो उपस्थितिमा नै ।
म तिमीलाई माया गर्छु
अनि घृणा पनि ।
तिमी मेरो जीवन हौ
तर मेरो कोही पनि होइनौ


तिमीलाई चिन्न
कि तिमी म हुनुपर्छ
कि म तिमी ।
तिमी बिछट्टै फरक छौ,
यति फरक कि
तिमीलाई बुझ्न 
कि म भगवान् हुनुपर्छ
कि तिमी ।