ए मान्छे, सुन्

Pic:joebricereview
ए मान्छे सुन्।
जे तैँले जानेको छस्
त्यो साँचो होइन।

तैंले देखेको सपना
र तैँले भोगेको जिन्दगी
एउटै त हो।
तैँले जिवनभर जसलाई
भगवान ठानिस,
त्यसको कहिल्यै
अस्तित्वै भएन।
तैँले जसलाई माया गरिस,
उसले तँलाई कहिल्यै
आफ्नो ठानेकै थिएन।
तैँले अहिलेसम्म सिकेको ज्ञान
भ्रम थियो।
तैँले जसलाई धन सम्झेको थिस्,
त्यो त फगत,
ढुङ्गा, माटो, र कागज थियो।

तैँले पढेको ईतिहास गलत थियो,
तैँले सिकेका कुरा बनावटी थिए,
तैँले देखेको कुरा धारणा थियो।
तैँले सुनेको कुरा हल्ला थियो।
तैँले छोएका कुरा कल्पना थिए।

हेर् न,
तँ जे गर्दै छस्,
त्यसमा कहिल्यै
तेरो इच्छा थिएन।
जेमा तेरो इच्छा थियो,
त्यो तैँले कहिल्यै गरिनस्।
तैँले जिन्दगीको परिभाषा
'बाध्यता' दिएको छस्
रहरको अर्थ,
'भाग्य' सम्झेको छस्।

तँलाई सबैभन्दा बढि मन पर्ने कुरा,
अरु कसैले
निर्धारण गरिदिएको हो।
तँ वेगको विपरित
जानै सक्दैनस्।
तँ कोही होइनस्,
तेरो परिचय
केही छैन।
यहाँ,
कोहि तेरा मित्र होइनन्
न हुन कोही आफन्त।

ए मान्छे सुन्,
तैँले सोचेको सत्य होइन।
तैँले बुझेको ठिक होइन।
Previous Next

نموذج الاتصال