दोस्रो बेन्च

कोही उपहार आदान प्रदान गरिरहेका। कोही नम्बर साँटासाँट गरिरहेका। कोही भावी योजना बनाई रहेका। कोही तस्बिर खिचिरहेका। तर म दोस्रो बेन्चलाई अन्तिम पटक नियाल्दै थिएँ।

धेरैको प्रिय थियो दोस्रो बेन्च। पहिलो र अन्तिम बेन्चका जस्ता बेफाइदा थिएनन् दोस्रो बेन्चका। अन्तिम बेन्चमा बस्दा अलिअलि रमाइलो भए नि, गफै बेसी हुन्थ्यो। तासी र पृथ्वीसँग मोबाइलमा गेम खेलेर पनि कतिपय घण्टीहरू कटाइएकै हो। कुनै पढिसकेको या सजिलो विषयवस्तु पर्‍यो भने, म पनि बस्न जान्थेँ, अन्तिम बेन्च। प्रथम बेन्चमा बस्दा, फेरी अति ज्ञानी हुनुपर्ने। दोस्रो बेन्चमा स्वतन्त्रता थियो-मन लाग्दा ध्यान दिएर सुन्ने स्वतन्त्रता, नलाग्दा बाल मतलब वाला स्वतन्त्रता।

कक्षाका तिन ओटा लहरहरू मध्य, हामी पल्लो छेउको दोस्रो बेन्चमा बस्थ्यौँ, प्राय। प्रायको अर्थ आधि जसो समय। नत्र त, दुई सय सत्तरीको कोणमा चक्कर लगाइन्थ्यो। आधि जसो समय नबस्नुको पनि कारण हुन्थे-एउटा, बस्न मन नलागेर; अर्को, बस्न नपाएर। बस्न नपाउनुको अर्थ, अरू नै कोही बसिसकेको भएर या बस्न नदिएर। हुन त, त्यहाँबाट घाँटी साठी डिग्रीमा घुमाएर करिब डेढ घण्टा बस्न त हम्मे नै हुन्थ्यो, तर पनि एक हिसाबले बानी भइसकेको थियो दोस्रो बेन्च बस्नु।

"तेरो त लभ पर्या छ रे, हाम्रै कक्षामा," आइतबार बुझाउनुपर्ने असाइनमेन्ट सिद्धाउनै आँटेको थिएँ, विवेकले भन्यो। हामी उसको भाषामा भन्दा, 'कम्बाइन्ड स्टडी' गरिरहेका थियौँ, उसको कोठामा। म रोमाञ्चित भएँ, मेरो प्रेमको बारे सुन्न। मेरो त्यत्रो लभै परिसकेको रहेछ, म अनविज्ञ नै रहेछु। "को सँग?" सोधेँ।
"म तेरो मिल्ने साथी, मसँग लुकाउँछस् कुरा? भन् मुला," उ रिसायो। अब म आफैलाई थाहा छैन, उसलाई के भन्नु?
"कसले भन्यो तँलाई?"
"परिनाले।"
"मेरो को सँग चक्कर चल्यो रे?"
"मदिनासंग।"
"कसरी?"
"त्यै त म सोद्धैछुँ, कसरी?"
"म परिनासँग कुरा गर्छु।"
"मैले भनेको नभन् , ल।"

भोलिपल्ट देखि दोस्रो बेन्चमा बस्न बन्द। किन? किनकि मेरो अगाडीको बेन्चमा बस्थि- मदिना। उसलाई बाल मतलब नदिनु जो थियो। हाम्रै कक्षाका एक-दुई जनासँग उसको नाम पहिल्यै जोडिई सकेको थियो। मलाई, मेरो नाम ऊ सँग जोडिएको रत्तीभर चित्त बुझेन। तर, होस् भनेर मतलब गरेको थिइन।

टेबलको दुई छेउ हामी थियौँ, बिचमा थिए-दुई कप कफि।यस्तै संयोग मिलेको थियो एक दिन, जब म कामबाट अबेर घर फर्किँदै गर्दा मदिनासंग सहिद चोकमा भेट भएको थियो। "एक छिन बस्ने?" उसैले प्रस्ताव गरी। मलाई नि हल्ला कन्फर्म गर्नु थियो, "हुन्छ" भनेँ।

मलाई कुरा निकाल्न गाह्रै भएन, उसैले सुरु गरी।
"थाहा छ सिजन, हाम्रा सबै साथीहरू तिमी मलाई मन पराउँछौ भन्ने ठान्छन् नि।" उसको मुखबाट यो सुनेर मलाई अचम्म लागेन, किनकि यो विषयमा मैले रिना, जो मदिनाको साथी थिई, सँग मेसेन्जरमा कुरा गरिसकेको थिएँ। "मैले भनेको नभन्नु," उसले भनेकी थिई, "यो हल्ला मदिना आफेले फैलाएको हो।"
त्यसपछि, मैले मदिनालाई केही भनेँ जो उसले मन पराइन्।

दोस्रो बेन्च फेरी मेरो भयो। भोलिपल्ट देखी मदिना बस्न आइन। मलाई यस्तो लाग्यो कि, म वर्षौँदेखि छुटिएकी मेरी प्रेमिकालाई फेरी भेट्दै छु।

हुन त दोस्रो बेन्च मेरो मात्र प्रिय हुन सक्थ्यो। मेरा केही मित्रहरू प्रथम बेन्च कहिल्यै छोड्दैनथे। आफ्नो एउटा सानो समूह बाहेक अरू कसैले त्यहाँ ठाउँ ओगटेको देखि सहन्नथे। यदाकदा, कोही बसिहाले उनीहरू अरूका सामान मिल्काएर त्यहाँ आफ्नो रवाफ जमाई हाल्थे। विवेक र मैले यस्तो आचरणलाई एउटा नाम दिएका थियौँ-"अतिक्रमण"।

विवेक म भन्दा सहज मान्छे थियो। जब जब म अतिक्रमणका विरुद्ध आवाज उठाउन खोज्थेँ, उ मलाई सम्झाउन खोज्थ्यो-"भो यार, त्यति सानो कुरामा के बोल्नु, साथीहरू दुख मान्लान्, जता बसे नि एउटै त हो।" "हो, उनीहरूले बुझ्नुपर्छ, जता बसे नि एउटै हो भनेर। यो हामीलाई मात्र लागू हुँदैन," म भन्थेँ। तर पहिलो बेन्चको लागि कहिल्यै कोहीसँग कुनै मनमुटावै भएन, जति दोस्रो बेन्चको लागि भयो।

"यो मैले सबिना र कमलको लागि रोकेको, तिमी पछाडि बस" मदिनाले भनी। सायद ऊ अब मेरो पूरा दुस्मन भइसकेकी थिई। "जसलाई रोके पनि, पुरै बेन्च तिमीले कब्जा गर्न पाउँदैनौ," मेरो अनुहार रिसले रातो भयो। "मेरो सिट, मेरो इच्छा, म जे मन लाग्यो त्यही गर्छुँ," ऊ कराई। अजय सर कक्षामा पसिसकेको थाहै पाएनछौँ, सर पछाडिबाट टुलुटुलु हाम्रो झगडा हेरिरहनु भएको थियो।
"के भयो?" सरको प्रश्न।
"हेर्नु न सर, मेरो बेन्च रे! हामीले बस्नै नपाउने रे!" म अझै आक्रोशित थिएँ।
"मैले त्यस्तो भनेकै छैन, बस्न मन भए बसे हुन्छ," उसको कुरा फेरियो।
पहिलो बेन्चमा गएर बसेँ। त्यस दिनदेखी, दोस्रो बेन्चमा कहिल्यै बसिन।

कक्षामा एउटा स्पष्ट विभाजन देखा पर्‍यो। उसका साथीहरू मलाई देखि सहन्न थिए; अनि मेरा? मेरा त्यस्तो देखि नसहने खालका साथीहरूनै बनेनन्।

शैक्षिक वर्षको अन्त्य पनि नजिक आयो। सबै सामूहिक तस्बिर लिनमै व्यस्त थिए, म चाहिँ अन्तिम पटक दोस्रो बेन्चलाई नियालिरहेको थिएँ। खाली थियो, उदाङ्गो थियो। बेन्चमाथि एउटा खाली प्लास्टिकको बोतल, ठिङ्ग उभिइरहेको थियो। छिनमै ढल्छ झैँ गरी।

अझै पनि, याद आउँछ यार दोस्रो बेन्चको।

"अनि साथीहरूको?"

"कुन चैँ?"