प्रचारबाजी र घटना


अहिले हाम्रो सामाजिक सञ्जालमा तिन चारओटा कुराहरूको खुबै टिप्पणीहरू भइरहेको छ, ती हुन, टीकटक भर्सेस युट्युब, कालापानी, वर्षा राउतले यसमाथि दिएको स्टेटमेन्ट र पछिल्लो समय रुकुम घटना।

 विषयवस्तुमा जानु पहिले म तपाईँलाई तिन वटा प्रश्नहरू राख्छु यसका उत्तरहरू तपाइको दिमागमा तयार पर्नुहोला, ताकि प्रस्तुत हुन गइरहेको विषय बुझ्न सजिलो होस्। 

१. टिकटक र युट्युबमा मान्छेहरू किन एक अर्कालाई उडाएर कन्टेन्ट बनाइरहेका छन् त ?

२. नेपाल र भारत बिचमा धेरै ठाउँमा सीमा विवाद छ तर किन कालापानीको मात्रै चर्चा हुन्छ होला?

३. वर्षा राउतले नेपाललाई माया नगर्ने नै होला त?

४. के रुकुम घटना जातीय विभेदको उत्कर्ष हो?


आउनुहोस् कुरा बुझ्ने र बुझाउने कोसिस गरौँ 

युट्युबमा आजकाल एउटा नाम चर्चित भएको छ- क्यारी मिनाटि। उनी प्रख्यात भएका छन् उनको टिकटकरलाइ उडाउने पाराले। उनले अमिर सिद्धिकी  नाम गरेका एक टिकटोकरलाइ उडाएको भिडियो निकै छोटो समयमा डेढ करोड पटक हेरिएको थियो।  अमिरले युटुबेर माथि पनि नकारात्मक टिप्पणी खुबै गरेका थिए। 

 हालै मिनाटीको भिडियो युट्युबले डिलिट गरिदिएको कुरामा खुबै हङ्गामा पनि सुनियो। युट्युबरले टिकटकरलाइ र टिकटकरले युट्युबरलाइ  आलोचना गर्ने उडाउने, कसै कसैले तल्लो तहको भाषा प्रयोग गरेर गाली पनि गरेको देखियो। यो ट्रेन्ड अहिले संसार भरी चलिरहेको छ।  नेपालमा यसको प्रभाव नपर्ने त कुरै भएन।  


अङ्ग्रेजीमा एउटा शब्द छ प्रोपागान्डा, जसको नेपालीमा अर्थ हुन्छ प्रचारबाजी ।  लेखिका एन म्याकक्लिण्टोकले आफ्नो लेख “सेभेन टेक्निक अफ प्रोपगाण्डा”मा  प्रचारबाजी का सात वटा टेक्निक को व्याख्या गरेकी छन्। लेखिकाका अनुसार यी टेक्निकहरू विज्ञापन र राजनीतिक नेता हरुले प्रयोग गर्छन्। तर आजभोलि यी विधिहरू सामाजिक सञ्जालमा पनि प्रशस्त प्रयोग भएका छन् जसले हाम्रो विचार र  मूल्याङ्कन क्षमतालाई प्रभाव पार्दछन्। 



१. NAME CALLING अर्थात् नराम्रो उपमा 

नेम कलिङ प्रचारबाजीको यस्तो विधि हो जसमा एउटा पक्षले अर्को पक्षलाई नराम्रा उपमा अथवा नामहरूले व्याख्या गरिन्छ। यसमा प्रचार बाजले आफ्नो विपक्षीलाई नराम्रो भनेर सर्वसाधारणहरूमा एक किसिमको घृणा, डर, र अविश्वास पैदा गर्छ, र यसले श्रोताको आफ्नो व्यक्तिगत बिचारलाई पनि प्रभाव पार्छ। नेताहरूले आफ्ना विपक्षीहरूका समर्थक घटाउन यो विधि प्रयोग गर्दछन्।  अहिले टिकटक र य़ुट्युबबीच भइरहेको यही हो। गल्ती प्रोपगाण्डा फैलाउनेको मात्र होइन, यस्ता कुरा हरुले दर्शक पनि निकै तान्दछ, टिकटक भर्सेस युट्युब गुगलमा केही समय यता निकै खोजिएको कि-वर्ड हो। 


२. Glittering Generalities अर्थात् रङ्गीचङ्गी र चिल्लो भाषाको प्रयोग 

नेम कलिङ को विपरीत यसमा प्रचार बाजले आफ्ना प्रशंसक हरू तान्न मिठो भाषाहरू प्रयोग गर्दछन्। राजनीतिमा आफूलाई लोकतान्त्रिक, जनप्रेमी, भ्रस्टाचारविरोधी भन्ने नेताहरू वास्तविकतामा कस्ता हुन्छन् भन्ने कुरा हामीलाई थाहै छ। युटुबरहरु आफूलाई राम्रो र टिकटोकरहरु आफूलाई राम्रो भनेको पनि एउटा प्रोपगाण्डा हो। 


३. TRANSFER अर्थात् तुलना 

प्रोपगन्डा को यो विधि अनुसार प्रचारवाजहरुले कुनै कुराको तुलना अर्को उच्च महत्त्व भएको कुरासंग गर्दछन् ताकि कुनै कुरालाई आफ्नो फाइदा अनुसार  प्रयोग गर्न सकियोस्। विगतमा कालापानीको तुलना हाम्रो स्वाभिमान, वीरता, र गौरवसँग गरियो। आम सर्वसाधारणहरू यो कुरामा विश्वस्त भए जुन आफैमा राम्रो कुरा पनि हो। लिपुलेक नेपालको हो भन्ने कुरामा कुनै शङ्का नै छैन तर यो प्रोपगाण्डा को सिकार भने भएकै हो। प्रोपगाण्डा कसरी भने, जब जब चुनाव आउँछ लिपुलेक कालापानी को मुद्दा बाहिर ल्याउने गरिएकै हो। यस पटक भने फरक परिस्थितिमा बाहिर आएको यो मुद्दा आउन नपाउदै सेलाइसक्यो। हाम्रै नेताहरूको अदूरदर्शिताले गर्दा भारतले हाम्रो जमिनमा पन्जा गाडेको हो। 


४.TESTIMONIAL अर्थात् प्रशंसा पत्र 

प्रचारबाजीको यो विधि व्यापारिक विज्ञापनमा बढी प्रयोग भएको पाइन्छ। यो विधिमा सार्वजनिक रूपमा ख्याति प्राप्त व्यक्तिहरू कुनै वस्तुको प्रशंसा गरेर त्यस वस्तुको  प्रचार गरिदिन्छन्। प्राय यो विधि विज्ञापनको हकमा सफल रहने भए पनि असल जिन्दगीमा कहिलेकाहीँ उल्टिदिन्छ। वर्षा राउतको “मेरा इन्डियन साथीहरूलाई फेस गर्न गाह्रो भयो” भन्ने वाक्य विवादित हुनु यसकै उदाहरण हो। वर्षाले मिलेर जाऔँ भन्ने अर्थमा त्यस्तो भनेको हुनसक्छ तर उनलाई यो कुराको ज्ञान भएन कि कुनै सार्वजनिक रूपमा चर्चित व्यक्तिहरूले भनेका कुराहरू कु-प्रचार हुन सक्छन् । मलाइ के लाग्छ भने हामी सबैले जस्तै वर्षा पनि आफ्नो देशलाई उत्तिकै माया गर्छिन्। सार्वजनिक रूपमा बोल्न नजान्नु भने उनको गल्ती हुनसक्छ।


५. Plain Folks अर्थात् उस्तै देखिनु वा देखाउनु 

राजनीतिक नेताहरू प्रचारबाजीको यो विधि बढी प्रयोग गर्दछन्। विशेषगरि चुनाव ताका नेताहरू गाउँ फर्किन्छन्, गाउँलेहरू जस्तै देखिन खोज्छन्, उस्तै पहिरन लगाउन खोज्छन् , र चुनाव पनि जित्छन्। कहिलेकाहीँ बाहुन नेता कुनै जाति विशेषको कार्यक्रममा गएर उनीहरूकै पहिरन लगाएर भाषण गरेको त हामीले देखेकै छौ। प्रचारबाजीको यो विधिबाट प्रचारबाजले म  पनि तिमीहरूजस्तै हो भनेर देखाउन खोज्छन्। 


६. Card Stacking अर्थात् गलत कार्ड फाल्नु

प्रचारबाजीको यो विधिमा प्रचार बाजले झुटो बोलेर, सत्य लुकाएर वा आधा सत्य देखाएर आफ्नो निजी स्वार्थमा निहित रहेर प्रचार गर्न खोज्छ।  कतिपय विज्ञापनमा भनिएको हुन्छ, एक्स्पर्टले सुझाएको  नम्बर एक ब्रान्ड । अब भन्नुहोस् कुन एक्स्पर्ट, कसरी नम्बर एक? हामी यो कुरामा आँखा चिम्लिएर विश्वास गर्छौ। त्यसैले त हामीले किन्ने प्राय सामान विज्ञापनमा बढी देखाइएकै वाला हुन्छ।


७. Bandwagon अर्थात् भेडो बनाउनु

प्रचारबाजीको यो विधि सर्वसाधारणमा बढी प्रयोग हुन्छ। यसमा प्रचार बाजहरूले “सबै गरिरहेका छन् त्यसैले तिमीले पनि गर” को अवस्था सिर्जना गरिदिन्छन्। चुनावको बेला ठुला राजनीतिक दलहरूले मात्रै चुनाव जित्नुको कारण यही हो। राजनीतिक दलहरूले चुनावताका यस्तो माहौल सिर्जना गरिदिन्छन्, चाहे त्यो भोज भतेर गरेर होस् या ठुला ठुला र्यालीहरु निकालेर होस् या पैसै बाँडेर होस् यस्तो माहौल बनाइदिन्छन् कि उनीहरूलाई समर्थन नगर्ने मान्छेलाई ढिलो चाँडो लाग्न थाल्छ “सबै गरिरहेका छन् मैले किन नगर्ने?” नेपालमा वेला बखतमा हुने विरोधहरू यो किसिमको प्रचारबाजीबाट प्रभावित हुन्छन्। जब कुनै किसिमको विरोध हुन्छ सबै खनिन्छन् तर केहिदिन पछि मूल मुद्दा नै सामसुम हुन्छ।       



प्रचारबाजीका यी टेक्निकहरू हाम्रै वरिपरि प्रयोग भैरहेका हुन्छन्।  यस्ता विधिहरू बाट हामीले हाम्रो निजी विचारलाई प्रभावित हुन दिनु हुँदैन। कुनै पनि निष्कर्षमा पुग्नु पूर्व समालोचनात्मक तरिकाले सोच्ने गरौँ। हामीले हाम्रो विचारलाई कुनै मास्टरमाइन्डको प्रोपगाण्डा बाट प्रभावित हुन दिनु हुँदैन। 


प्रचारबाजीका यी टेक्निकहरू बाहेक विभिन्न डिस्कोर्सहरु, जस्तै फेमिनिज्म, रेसिज्म, कास्टिज्म आदि, को माध्यम बाट पनि प्रचारबाजी हुन सक्छ। उदाहरणका लागि रुकुमको घटनालाई हेरौँ जहाँ कास्टिज्मको डिस्कोर्स प्रयोग भइरहेको छ। विभिन्न माध्यमहरूबाट “बाहुन क्षेत्रीले दलितको हत्या गरेको” अर्थमा व्याख्या विश्लेषण भइरहेको छ तर हामीले यो वास्तविकता बिर्सनु हुँदैन कि आरोपित ठकुरी जातिका हुन् भने मृतकमा उपल्लो भनिएका जातका युवकहरू पनि छन्। यसको मतलब उक्त घटनामा जातीय विभेद नै छैन भन्ने पक्कै होइन। घटनाको जरो जातीय विभेद हुन पनि सक्छ- नहुन पनि सक्छ, स्वतन्त्र छानबिन पछि सत्य बाहिर आउने हो। मेरो विचारमा यो घटनालाई एउटा आपराधिक घटनाको रूपमा हेरी निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ। हामीकहाँ त विज्ञ नै विज्ञ छन् जो सामाजिक सञ्जालमा दुई चिरामा विभाजित भएर आफ्ना तर्कहरू दिइरहेका छन्। हामीले अनावश्यक आ-आफ्नो तरिकाले मूल्याङ्कन गर्न थाल्यौँ र प्रचारबाजी गर्‍यौँ भने अर्कै सत्य निर्माण हुन सक्छ। यसले छानबिन प्रक्रियालाई नै प्रभाव पार्न सक्छ। दोषी उम्कन सक्छ, निर्दोषले सजाय पाउन सक्छ। सूचना आवश्यक छ तर प्रचारबाजी होइन।



Based on Seven Techniques of Propaganda by Ann McClintock