सपनाहरु

ती विचारहरू,
जो मनमा प्रतिविम्बित हुन्छन्
र कहिल्यै हुँदैनन् पूरा
जतिपनि गरौँ कोसिस
तैपनि रहन्छन अधुरा
तिनै अर्थबिहीन सोचाइ
तिनै असम्भव बाँधहरू
तिनै अस्तित्व बिहीन चाहनाहरू
हो तिनैलाई भन्छौँ हामी सपनाहरू

सपनाहरू,
जो अनिष्ट हुन्छन्
मिथ्या र भ्रामक हुन्छन्
हुन्छन वास्तविकताभन्दा फरक
बनिदिन्छन हरेक दुखका कारक
म सोचिरहेछुँ किन यी मान्छेहरू
सोचिरहेछन् सपनामै रमाउछौँ बरु

जब बूढो बा मध्ये दिउँसो
हुन्छन खेतमा हिलो खेलिरहेका
तब उनको तन्नेरी छोरा
देखिरहन्छ विदेशको सपना
कक्षाको अन्तिममा बस्ने मुन्द्रे
देख्दछ नेता हुने, मन्त्री हुने सपना
रोगहरूसँग खेलिरहेको एउटा डाँक्टर
सधैँ देख्दछ निरोगी भइरहने सपना
व्यवस्थापिकामा पनि त सांसदहरू
निदाइरहेका देखिन्छन्
सायद देखिरहेका होलान्
समृद्ध देशको सपना

थाहा छ उनीहरूलाई
के थाहा छ र मलाई
यहाँ खानेकुराहरू बेच्न
राखिन्छन धुलाम्य सडकमा
अनि जुत्ता चप्पलहरू
सजाइन्छन सिसाको सोकेसमा
काम भएकाहरू छन कुलङ्गार
काम गर्नेहरू छन बेरोजगार
गरिबी यस्तो छ
गर्नै सकिन्न कल्पना
हामी त्यस्तो देशमा छौँ
जहाँ केवल देख्न सकिन्छ सपना

ए सरकार,
सपनाहरूका किन यति धेरै प्रकार
आमाका सपनाहरू
स्वयंका सपनाहरू
जनताका सपनाहरू आदि इत्यादि
अनि सहिदका सपनाहरू

म पुन: सोचिरहेछुँ यी सहिदहरू
खै कसरी सपना देख्छन होला
म सोच्दथेँ सपना देख्नेहरू सहिद हुन्छन
स्वतन्त्रताका सपना
अधिकारका सपना
मुक्ति र शान्तिका सपना
यही छ मेरो अभिलाषा
दिन्छुँ सपनाको नयाँ परिभाषा
महाशय, ती के सपना
जो केवल निद्रामा आउँछन
सपना त ती हुन
जो निद्रा भगाउँछन