नभेम्बर महिनाको एक बिहानै म युनिभरसिटी अफ सेन्ट्रल फ्लोरिडाको कार पार्किङ क्षेत्रमा आफ्नो कार पार्क गरेर एन्थ्रोपोलोजी डिपार्टमेन्ट तर्फ आफ्ना कदमहरु बढाउँदै थिएँ। झोला एउटा काँधमा अड्याएर, मेरो नजर तीन दिन देखि नपुछिएका फोहोर जुत्तातिर थियो। मनमा नाना थरि कुराहरु खेलिरहेका थिए। हातमा नेपाली लेखकको एउटा उपन्यास थियो , जुन केही घण्टा पहिले अलफाया ट्रेल नजिकैको एउटा फ्ल्याटमा बस्ने नेपाली साथीसंग पढेर फिर्ता गरिदिने सर्तमा सापटी मागिएको थियो। रातभरि ग्याँस स्टेसनको जागिर, लगतै अनिवार्य कलेज आउनै पर्ने बाध्यताले मन एक तमासको बनाइदिएको थियो।
कलेज अफ एन्थ्रोपोलोजीको तेस्रो सिढि उक्लिदासम्म ध्यान नेपालमै थियो। हिजो राति एघार बजे बहिनीले फोन गरेकि थिई, " दादा हजुरले त बिर्सनु भो, के हजुरलाई एक कल फोन गर्न टाइम मिल्दैन।" अामाको गुनासो पनि केही त्यस्तै थियो। "तँ त म मरे पनि नेपाल आउन्नस है।" "अब चाँडै आइहाल्छु नि आमा।" दुई बर्ष देखि प्राय म उहाँलाई यहि वाक्य दोहोर्याउथेँ। सय रुपैयाँ सापटी नपत्याउने, आवश्यक पर्दा चिन्दै नचिन्ने साथीहरुले च्याटमा भन्न थालेका थिए, "तैँले त बिर्सिस् बट वी मिस यू यार।"
सबैको म प्रतिको व्यवहार एकाएक बदलिएको थियो। मेरा साथिहरु मार्फत, भाई बहिनी, मामा, फुपु र विभिन्न नातेदारहरु मार्फत मलाई चिन्न आउनेहरुको भिड अलि बाक्लै थियो। प्राय मेरो सामिप्यता खोज्थे, मेरो प्रशंसा गर्थे। एकदिन त मलाई बेरोजगार आवारा ठान्ने कार्कि अंकलले फोन गरेर भन्नुभयो " छोरा होस त तिमीजस्तो, मेरो छोरा त आवारा हुने भो, लौ तिमीले नै केही गर्नुपर्यो।"
एक सन्डे इकोन नदीको छेउमा रहेको इटालियन पेपिनोज रेस्टुरेन्टमा सन्दीपले बासी पार्टी आयोजना गरेको थियो। बासी यस अर्थमा कि दुई दिन अगाडि उसको बर्थ डे थियो। हामी साथिहरु अरु दिन व्यस्त हुने भएकाले बासी नै भएपनी पार्टी गर्ने योजना बनाएका थियौँ।
सन्दीप र म कलेज देखिकै साथी थियौँ हामीले जिवनको दोस्रो दशकको उत्तरार्द टीकापुर बहुमुखी क्याम्पसकै आसपास बिताएका थियौँ। जमरामाथीको जर्जर काठेपुल माथी हामीले पाँच बर्ष संगै ओहोरदोहोर गरेका थियौँ। देवकोटा लिटरेचर हाउस अघि बेन्चमा बसेर हामी संसार बदल्ने गफ हाँक्थ्यौँ। क्याम्पसको क्यान्टीनमा चिया र समोसा बाहेक केही पाइन्नथ्यो। हामीले कयौँ पटक एउटा चिया र एउटा समोसा बाँडेर खाएका थियौँ।
कलेज सकिएपछि सन्दीपले अमेरिकाको लागि स्टुडेन्ट भिसा एप्लाई गर्यो र अमेरिका आयो। म भने नेपालमै एमए पढ्न थालेँ। एमए पछि मैले पनि एमफिलको लागि यूसएकै लागि भिसा आवेदन भरेँ। मलाई स्पोन्सरसिपको आवश्यकता पर्यो, मैले सन्दीपलाई सहयोगको लागि अपिल गरेँ। बदलामा सन्दीपले कन्ट्याक्ट नम्बर चेन्ज गर्यो र इमेलमा पनि जवाफ फर्काउन छोड्यो।
म पछि फ्लोरिडामा आइसकेपछि यहि सन्दीप फेरि मेरो बेस्ट फ्रेन्ड बन्यो। हामी पेपिनोज रेस्टुरेन्टमा वाइन हातमा लिएर चियर्स गरिरहेका थियौँ। र विभिन्न गफहरुमा अाफ्ना दुख भुलिरहेका थियौँ। यतिकैमा सन्दीपले एउटा प्रसंग ल्यायो, "सन्ध्यालाई चिन्छस समर, रुम नं ११ , टीएमसी, ब्याचलर...." " अम.... कसरी बिर्सन सक्छुँ र," मेरो जवाफ थियो। "त्यो तँलाई मन पराउछे रे, हिजो अनलाईनमा कुरा भाथ्यो, धेरै मिस गरेको भनिदिनु भन्थी।"
त्यो उहीँ सन्ध्या थिई जसलाई मैले कलेज दोहोर्याएर प्रेम प्रस्ताव गरेको थिएँ र जसले "सरी, मेरो ब्वाईफ्रेण्ड छ" भन्ने उत्तर दिएकी थिई। जो मलाई असाध्यै राम्री र आकर्षक लाग्थी। सन्दीप र म उसलाई हरेक ठाउँमा पछ्याउथ्यौँ, कहिले कलेजमा, लाइब्रेरी त कहिले बाटोमा। उ मलाई खाउँला गरि हेर्थी । प्राय बोल्दैनथी, बोलेपनि झर्केर बोल्थी। सन्दीपमार्फत उसको त्यस्तो प्रतिकृयाले मलाई अच्चम्म बनाएको थियो।
म फ्लोरिडा आइसकेपछि सबैमा आएको परिवर्तनबाट एकातिर म आनन्दित भएको थिएँ भने अर्कोतिर केही उदास थिएँ। एक्वारियस एगोरा ड्राइभ हुँदै जेमिनी बुलभार्ड उत्तर तिर रहेको लेक क्लेरको छेउमा बसेर मैले यी परिवर्तित मान्छेलाई कस्तो प्रतिक्रिया दिनुपर्छ भनेर निकैबेर सोचेँ। पछाडिबाट कसैको बोलावट भयो, "समर्पित" महिला आवाज थियो । फर्केर हेरेँ र निकैबेर मुस्कुराइरहेँ। (अनुमति बिना कथा कपि गर्न मनाही छ।)