उस्तै उस्तै

हेरेँ थुप्रै कोणबाट
गरेँ सूक्ष्म तुलना
लागे हरेक चिज धर्तीका
एउटै एउटै

हकिकत हो या भ्रम
न नाता दुरदुरको
लाग्छ नजिकको रिश्तेदार
मिल्दोजुल्दो उस्तै उस्तै
मलाई उस्तै लाग्छ
माहुरीको घार
पेट्रोलको टार
रद्दीको तार
बनमाराको झार
तिम्रो अनुहार
र हाम्रो सरकार
उस्तै लाग्छ

मलाई उस्तै लाग्छ
फुलेको केश
पलपलको हरेस
पिडाको शेष
माग्नेको भेष
र मेरो देश
उस्तै लाग्छ।
उस्तै लाग्छ

कालो धन
जलेको मन
वेश्याको तन
यहाँको आन्दोलन
उस्तै लाग्छ

न हुँ म कवि
छैन त्यो छवि
तैपनि देख्दछुँ
आकाशमा रवि
दोष छैन नयनमा
तैपनि खै किन
मान्छेलाई म देख्छुँ
दानब
पथ्थरलाई देख्छु आफन्त

नहेर त्यता
मलाई के था
फाटेका जुत्ता
सडकका कुत्ता
न काला न सेता
हाम्रा नेता
मलाई उस्तै लाग्छ।

लाग्छ हरेक चिज
बनेका हुन
एउटै पदार्थबाट
एउटै शक्तिबाट
जसरी मान्छे जन्मियो बाँदर बाट
बाँदर विकसित भो जलचरबाट
त्यसैले मलाई उस्तै लाग्छ।

भैरबको भोली
आचार्यको झोली
मोदीको बोली
दाहाल र ओली
उध्रेको चोली
उस्तै लाग्छ
खै किन मलाई
फरक चिज उस्तै लाग्छ

Punlished: Ratopati
Previous Next

نموذج الاتصال