ढुकुरे

  ढुकुरे। हाम्रो सहरको “लिजेण्ड” हो ऊ।  वास्तविक नाम पनि थियो होला उसको तर मलाइ कहिल्यै थाहा भएन। न त ऊसँग सोध्ने आँट नै भयो। उसको अस्तित्व त मैले थाहा पाउनु भन्दा धेरै अगाडी थियो होला तर मैले पहिलो पटक उसको भेउ पाएको म कक्षा आठ / नौ मा पढ्दा ताका हो। हामी हरेक दिन विद्यालय आउँदा जाँदा उसलाई बाटोमा बरालिँदै हिँडेको देख्थ्यौँ। बेग्लै किसिमको सेलिब्रेटी थियो उ - सबैले चिन्दथे तर उ कसैको आकर्षणको केन्द्र भने थिएन। 


शरीरमा झुत्रा झिम्रा झुन्डाएर हिँड्दथ्यो ऊ। जिङ्ग्रिङ्ग परेका पातला कैला कपाल, हात भरी औँठी र एउटा फोहोर थाल, घामले मक्किएको अनुहारमा गहिरा डोब परेका गाला र हाड छाला मात्र बाँकी रहेको दुब्लो शरीर ढुकुरेका केही पहिचान थिए। हामी स्नातक तहसम्मै पुगिसक्दा पनि ढुकुरेको थाक थलो उही सानो नगर थियो। हामी तन्नेरी हुँदै थियौँ, उ बुढो हुँदै गइरहेको थियो। 


एक दिन पानी ट्याङ्की नजिकै राखिएको एउटा ठेलामा दस दस रुपैयाँको चाउमिनको अर्डर पर्खिरहेका थियौँ। पछाडिबाट एउटा मसिनो आवाजले कोट्याउँदै सोध्यो -”दुई रुप्प्या द्याओ न भाउ।” म अलि झस्केर पर सरेँ। आँखाको छेउछाउ बाट सेतो पदार्थ प्रस्ट देखिएको उही ढुकुरे मेरो पछाडि ङिच्च हाँस्दै उभिरहेको थियो। उसले थोत्रा टालाटुलीले भरिएको प्लास्टिकको ठुलो थैलो टाउकोमा बोकिरहेको थियो।  एउटा साथीले उसलाई पाँच रुपैयाँ थमाइदियो अनि उ अलि खुसी हुँदै बरबराउँदै हिँड्यो परतिर। 

Photo Credit: Hello Tikapur

“त्यसका बाका ****को छोरो…………………………….” कहिलेकाहीँ उग्र व्यवहार देखाउँथ्यो ढुकुरे। “पागल” ठान्थे मानिसहरू उसलाई । तर अरू समय प्राय शान्त रहन्थ्यो  उ, र आफ्नै संसारमा हराई रहेको भेटिन्थ्यो। एक दिन हाटबजारमा साथीहरू माझ कुरा उठ्यो, “हैन, ढुकुरे किन बहुलाएको यार?”

“मायामा धोका खाएर रे भन्ने सुनेको। खै कुन्नि।”


“परिवारले सम्पत्ति हडप्न घर बाट निकालेको रे? त्यही भएर त बेला बेला गाली गर्दै हिँड्छ।”


“खै, किन हो, किन हो? जिन्दगीमा  त्यस्तै हुन भनेर लेखेको छ होला, कारण चाहिन्छ र?”

“हो यार, जिन्दगीमा धेरै कुरा कारण बिनै हुन्छन्।”


“हैन केटा हो, यो ढुकुरे सँग टन्न पैसा छ होला है, सधैँ मागेर मात्र हिँड्छ। खर्च गर्ने ठाउँ नै छैन।” कुरा मोडियो।


“खै? मलाइ त यो मान्छे पागल जस्तो नै लाग्दैन। पैसा चिन्ने र महत्व बुझ्ने मान्छे पनि कहीँ पागल हुन्छ?”


हाम्रो कुरा ध्यान दिएर सुनिरहेका एक जना बा ले हामी तिर फर्किदै थप्नु भयो-”पागल होइन नि यो मान्छे बाबु हो। असहाय हो, जोगी हो। सबै कुरा बुझ्छ यसले। तिस चालिस बर्ष पहिलेको कुरा पनि सम्झन सक्छ।”


“अनि बाजे, यो मान्छेले पैंसा चाहिँ के गर्छ?”


“बिचरा, पैंसाको महत्व सवै थाहा छ नि उसलाई। केहि आफ्नै योजना होलान। तर सबै आवारा केटाहरूले लुटी दिन्छन्। बनिरहेका तर नसकिएका खुला घरहरूमा त बस्छ उ। रातमा उसको ठेगाना पैल्याइ हाल्छन उनीहरुले।”


दया जागेर आयो उसप्रति। लाग्यो आफूले यति धेरै दुख पाएको ठाउँ किन छोडेर नगएको होला ऊ।

उसले त होइन  बरु बिस्तारै मैले त्यो सहर छोडेँ। वर्ष-दुइ वर्षमा एक पटक गइरहन्थे म त्यो ठाउँ। कहिले कहीँ बाटो हिँड्दा देख्थेँ ढुकुरेलाई। अलि बुढो उमेरको ढुकुरे, अझै उस्तै अवस्थामा थियो। “काँ छियौ त भाउ? तम्लाई निकै देख्यान त।” एक दिन बाटो हिडी रहँदा यस्तै भनेको थियो ढुकुरेले। मलाइ साँच्चिकै अचम्मित बनायो यस कुराले। कहिल्यै दोहोरो संवाद नभएको मसंग, कसरी चिन्यो उसले मलाइ? के उसले मलाई कहिल्यै त्यो सहरमा “नोटिस” गरेको थियो? उ मलाई अर्कै मान्छे ठानेर झुक्किएको पो थियो कि? । कि यो  केवल एउटा संयोग थियो?

Photo credit: Chandrodaya Steel Udhyog

पुस १५ गते, कसैले फेसबुकमा ढुकुरेको फोटो सेयर गरेको थियो-”ढुकुरे अर्थात् ५ रुपियाँ देन बा भन्ने व्यक्ति आजबाट सदाका लागि बिदा भए!! स्वर्गमा बाँस होस !” अरू सबैले भक्काने रोटी खाएर पुस १५ मनाउने तयारी गरिरहँदा कुनै पुल मुनि या छोडिएको कुनै चिसो भुईँमा एउटा प्राणी मृत्युसँग लडिरहेको थियो होला। हार्दिक श्रद्धाञ्जली ढुकुरे!!!