हिजो।

"हिजो कलेज आइनस त।"
"घर गाथेँ"
"जान दुई दिन लाग्छ, ढाँट्छस।"
"होइन घर गाथेँ, साँच्चिकै।"
सरले अगाडि पढाइरहनु भएको थियो र अन्तिममा हामी गफ गरिरहेका थियौँ। सरले पढाएको कुरो आफुले नपढेसम्म बुझिने हैन, किन ध्यान दिनु व्यर्थै भन्ने लाग्थ्यो। प्राय सरले हामीतिर हेरेर आँखा नतरेसम्म हामी प्राय गफ गरिरहन्थ्यौँ। यस पटक पनि त्यस्तै भयो। सरले हामी बोलीरहेको भेउ पाउनुभएछ, भन्न त केही भन्नुभएन तर हामी चुप लाग्यौँ। सरको ध्यान हामीबाट हट्ने बितिक्कै उ फेरि सुस्तरी बोल्यो-
"तँलाई थाहा छ, हाम्रो क्लासमा कतिओटा जोडी छन?"
"नाईं त, था छैन।"
"पाँच ओटा" ऊ खिस्रक्क हाँस्यो।
"हैन होला, मलाई त त्यस्तो लागेन।"
"कहिले दायाँ बायाँ हेर्ने भा पो?"
"को-को?"
"पछि भन्छुँ पख।"

मन उडेर पुन: घरमा पुग्यो। गएको साँझ म घर गएको थिएँ। खोलाको छेउमा मेरो घर मसानघाट जस्तै उजाड थियो, खरको छानो साह्रै पुरानो भएको थियो, मर्न लागेको बूढो गोरु जस्तै। जब पुगेँ, आमा अगेनाको छेउमा  , भुइमा लाएको ओछ्यानमाथी लडिरहनु भएको थियो। 
"तँ आइस कान्छा? खबरै नगरेर आइस त।" जसो तसो उठेर आमाले भन्नु भयो। "ढोगेँ आमा" यति मात्रै भनेँ, कुनै जवाफ फर्काइन। 
"हेर्न, बर्खाको पानीले बारी पनि लयो, अब घरलाई लान बाँकि छ र घरसंगै मैलाई पनि," आमा बोल्दै जानुभयो। "तँ त दशैँमा पनि आइनस्, हैन, तेरो पडाइ अजै सक्केन भन्याँ, म बुडिलाई कति एक्लै छाड्छस् यो जंगलमा? कि त ब्या गरेर जा यौटी, नत्र म त सक्दिन अब।" 
"एक बर्ष मात्रै बाँकी छ आमा, त्यसपछि त म पनि यतै बस्छु नि।" धेरै भन्न मन थियो, भन्नै आएन।
"कति दिनलाई आइस् त?"
"भोली बिहानै जान्छुँ।"
"पैँसा मात्तैं खर्च, एक रात बास बस्न मात्तै किन मुन्टिस त?" म हाँसे मात्रै।

"जाम भोड्का खान।" साथीले बोलेको सुनेर मन कक्षामा पुग्यो। ऊ पानी पिउन जाँदा भोड्का खान जाम भन्थ्यो। प्रशासनको पछाडिको साँघुरो कोठामा राखिएको कालो ड्रम घचेटी घचेटी हामीले पानी पियौँ। 
"हिजो तेरो फोन पनि लागेन। के भयो? सब् ठिक त छ नि।" साथीले उत्सुकता मिसिएका वाक्यहरु प्रहार गर्यो। 
"हिजो घर गाथेँ यार, म त मास्टर्स पूरा गर्न सक्दिन होला। घरमा आमा बिरामी हुनुहुन्छ।" मैले भनेँ। 
"कसरी गइस घर? एक हजार किलोमिटर टाढा। मजाकको पनि हद हुन्छ नि।" उसले भन्यो। म केही बोलिन।

टी यू को घडिले बजाईरहेको रातिको एघार बजेको अलार्मको आवाज, कोठा सम्मै आईरहेको थियो। आमाको लागि दिउँसो किनेको औषधी हातमा लिएर म बिरालोको चालमा छतमा पुगेँ। लगाएको ज्याकेट र भेस्ट झोलामा पोको पारेँ। झोलाको बाहिरको गोजीमा औषधी छिराएँ। त्यसपछि ध्यान मुद्रामा खुट्टा पसारी थचक्क बसेँ। जाडोले प्राण नै बाहिर आउला झैँ भइरहेको थियो। आधा घन्टापछि जाडो हरायो। आँखा खोलेँ। जिउँमा चराका झैँ भुत्ला थिए र पछाडी ठुला ठुला दुई ओटा पखेटा। उडेँ, आमालाई भेट्न घरतिर। आमा मलाई सम्झेर बसिरहनुभएको थियो होला।