अभिनय

मैले बच्चै बाट सिकेको हुँ।
उ मेरी दुलही
 र म उसको दुलहा बनेर
भाडाकुडी खेल्न
हामी दिनभर लोग्ने स्वास्नी बन्थ्यौँ
र साँझ सबै नाता बिर्सेर घर फिर्थ्यौँ
आखिर जिन्दगी पनि त त्यस्तै रैछ
अभिनय
त्यसैले मैले बच्चै बाट सिकेको हुँ
अभिनय












स्कुलमा सरले भन्नुहुन्थ्यो
'यो केटो त साह्रै सोझो,
घ्यु जस्तो, कपास जस्तो'
तर तिनीहरुले कहिल्यै देखेनन्
म भित्रको रत्नाकर
कि त कहिल्यै सोचेनन्
घ्यु मा कति चाँडो सल्किन्छ,
र कपासमा कति चाँडो फैलिन्छ भनेर
आगो
म प्रलय बनेर हुर्किरहेथेँ तब,
कसैलाई पत्तै भएन
सोझो भएको गरिरहेथेँ
अभिनय
त्यसैले मैले बच्चै बाट सिकेको हुँ
अभिनय

फलानो कतिपटक
 फलानीको प्रेममा पर्यो
मेरो ढिस्कानो साथीलाई
सब थाहा छ।
मैले पनि कतिलाई
यादै छैन
मनमा सजाएँ,
तर अहँ
गरिरहेँ
घमन्डी र अन्तरमुखी भएको
अभिनय।
म भित्रको प्रेमी मरेर
कहिले कवि भयो
कसैलाई थाहै भएन
त्यसैले मैले बच्चै बाट सिकेको हुँ
अभिनय

अचेल तिमीलाई पनी त
यो समाज
सँस्कारी, सहयोगी, सद्दे
सुयोगी, सहनसील, सभ्य
भएको भ्रम पालिरहेछ,
तर तिमी भित्र त छ यौटा दानव,
राक्षस, जंगली, महिषासुर
छुँ त केवल गरिरहेको
अभिनय
यौटा सामाजिक प्राणीको
मैले बच्चै बाट सिकेको हुँ
गर्न अभिनय

Published on Ratopati
Previous Next

نموذج الاتصال