काली

काली-डल्ली
एक अौंस सुन्दरता
बाँकी थिएन उसमा
न मिलेको अनुहार
न शरिरको आकार।
जब पाश्चात्य संगीतमा
हामी झुमीरहेथ्यौँ
ऊ एक कुनामा बसेर
उदासीनता छरिरहिथी।
हातमा हात समातेर
नाच देखाइरहेका बेला
ऊ उसै गरि कुनै एक
कल्पनाको संसारमा
हराईरहिथी।

फुल जस्तो मुहार
मृगनयनी आँखा
सुकेको कम्मर
फुलेको बक्ष
कोकिल स्वर
हिउँ झै दन्तलहर
बादलजस्तो केश
मनमोहक मुस्कान
त्यो सोह्र शृङ्गार
अहँ केही थिएन उसमा।
एउटा उजाड घरजस्तो
रित्तो थियो उसको संसार
बेदना, गुनासो र आँशु मिश्रित
उसको जिन्दगी
थियो एक कहर जस्तो।

एक सुन्दरी
हिँड्दथी मध्य सडकमा
पछाडि दशौँ युवकहरुको जमात
यो दृश्य हुन्थ्यो उसलाई
सुनौलो रहरजस्तो
त्यहि कालीसंग
प्यार भैदियो यार
सुन्दरता थिएन मुहारमा
प्रेम थियो
घमण्ड थिएन मनमा
उदारता थियो
योजना थिएन भविष्यमा
सपना थियो
ऊ रातमा फुलेकी
पारिजात थिई
जोसंगको मिलन
हरेक भमराको
वशमा थिएन।