बसमा भेटिएकी केटी

मंसिरको महिना, अलिअलि जाडो बढिरहेको थियो।कलेजको विदा भएकोले दिनभर फेसबुकमा अरुका स्टेटस लाईक र कमेन्ट गर्दै समय बिताइरहेको थिएँ। यतिकैमा म्यासेजबक्समा कसैको म्यासेज टुनुन् गर्दै आइपुग्यो। "के छ? खाना भो?" सरलको रहेछ। सरललाई मैले फेसबुकमा लाईक,कमेन्ट गर्दा गर्दै चिनेको हो। मैले फेसबुकमा थोप्लो मात्रै पोष्ट गरेछुँ भनेपनि उ कमेन्ट गर्न भ्याउँथ्यो, "नाईस" र म पनि उस्तै। राती एक बजे पनि उ "खाना भो?" भनेर नै सोध्थ्यो र मेरो रेडिमेड जवाफ हुन्थ्यो-"अँ भो, तिम्रो?"
यस पटक मेरो जवाफ थ्यो-"नाईँ यार व्रत छ।"
"के को?"
"भगवानको।"
"किन?"
"गलफ्रेन्ड भेटियन यार, हे हे हे....."
"हे हे..अनि कलेज नगाको?"
"बिदा छ एक हप्ताको, साथीहरु टुर गाछन दार्जलिङ तिर।"
"तिमी किन नगाको?"
"सब बोकाहरु मात्रै, रमाइलो हुँदैन भनेर नगाको।"
"पोखरा आउ न त, दाईको बिहे छ, रमाइलो हुन्छ।"उसले भन्यो।

त्यसपछि मैले उसलाई रिप्लाई नै गरिन। कालीमाटीको जामले गर्दा कलंकी पुग्न एक घन्टा लाग्यो। म्यासेन्जरमा म्यासेज पठाएँ, "म आउदै छुँ, ठेगाना र नम्बर छोड्नु।"
 कलंकी पुग्दा घडिले साँझको चार हानीसकेको थियो। त्यसपछि सुरुभयो फेरी अर्को बार्गेनिङ।
"दाइ! धरान हो? ल यता यता।"
"तपाईं कता जाने होला? बिरगन्ज? बिराटनगर?"
"चितवन, बुटवल....आउनुस मिलाएर हुन्छ भाई।"
"धनगढी, महेन्द्रनगर....हजारमा खाना सहित..."
"पानी, चना, चाउचाउ, पुस्टकारी....ल हजुर..ल हजुर..."
"ल अंकल, पोखरा...पोखरा...माइक्रोमा छिटो पुगिन्छ।" एउटा बार्ह तेह्र बर्षको केटोले हात तान्दै भन्यो। 'दाई'सम्म भनेको भए त पक्का जान्थेँ होला, अंकल भनेकाले गइन।

अन्तमा चारसयमा कुरा मिल्यो सिटमा बसेँ -अन्तिम लहरको सिट। एउटा बोत्तल पानी र सरललाई उपहार स्वरुप आधा किलो गुदपाक किनेर ब्यागमा राखेँ। म्यासेन्जरमा "ह्याप्पी जोर्नी" सरलको म्यासेज फुत्त च्याटहेड भएर बाहिर निस्क्यो। "खै त नम्बर छोडेको?" लेखेर सेन्ड बटन क्लिक गरेँ अनि मोबाईल स्विच अफ गरेँ- चार्ज जो बचाउनु थियो। नत्र पोखरामा न मैले सरलको घर देखेको थिएँ न मसंग उसको मोबाइल नंबर नै थियो, थियो त उही फेसबुक।

बस घडिको मिनेट सुइ भन्दा ढिलो हिँडिरहेको थियो। थानकोटको जामले साँझको सात बजे मात्रै हामी धादिङ छिर्यौँ। सधैँ छेउको सिटमा कि त केटा मान्छे कि त बुढाबुढि पर्थे तर यसपटक यौटी सुन्दरी बसेकी रहिछ। आकर्षक अनुहार, मिलेका दाँत, बारुली कम्मर र पुष्ट बदनले जो कोहिको मन लोभ्याउन सक्थ्यो तर संयोग उसंग मेरो गोरु बेचेको पनि सम्बन्ध थिएन। मैले सम्पुर्ण ध्यान सुत्नतर्फ केन्द्रित गर्न खोजेँ तर अघिसम्म निदाउन - निदाउन थालेको म, अहिले मन निदाउनै मानेन। घरि आँखा चिम्लिदै घरि उघार्दै म चोरि आखाँले उनितिर हेरिरहेँ। केही अघिसम्म त सिट खाली नै थियो, ऊ खै कतिबेला बसिछे थाहै पाइन- अर्धनिन्द्रामा भएकोले होला। ऊ हेडफोन दुवै कानमा घुसारेर निरन्तर मोबाइल स्क्रिनमा आफ्ना बुढीऔँला खियाइरहेकि थिई। एकपल त उसले किप्याडमा दौडाईरहेको औँलाको गति देखेर चकित नै भएँ। एक छिन त बोलौँ बोलौँ पनि नलागेको होइन तर बोलिन।

नौबिसे पुग्नै लाग्दा गाडि एक्कासि रोकियो, "बाटो जाम छ हौ, अलि अँध्यारो भएसी हिँड्नुपर्छ, नास्ता गरौँ," गुरुजीको आवाज सुनियो। बाहिर निस्केर आङ तान्दै यसो वरपर नियालेँ। झमक्क अँध्यारो भैसकेको थियो। 'सिधासादा भोजनालय' लेखिएको भवनभित्र थरिथरिका मान्छेहरु पेट भरिरहेका देखिन्थे। न त्यहाँ कोहि सिधा जस्तो थियो न कोहि सादा, सबै रंगिचंगी। एक्कासी ऊ पनि बाहिर निस्की र सरासर नजिकैको किरानामा गएर भनि, "खै, सुर्य छ?" म अवाक भएँ। सोचेँ, एक्काइसौँ सताब्दिकी नारी जो परि।

साथीले छ घण्टामै पोखरा पुगिन्छ भनेको थियो तर हामी छ घण्टामा धादिङ कटेका थिएनौँ। ऊ उसैगरी मोबाइलमै मस्त हराईरहेकी थिई। मानौँ यसरी कि मोबाइलबाहिर कुनै संसारै छैन। बसभित्रको मधुरो प्रकाशले उसको अनुहारको चमक बढाइरहेको थियो। म उसंग बोल्न चाहान्थेँ तर खै मैले कहिल्यै अपरिचित केटीसंग बोल्नै सिकिन या भनुँ सकिनँ। म निदाउने व्यर्थै प्यास गरिरहेँ। एकमनले छ्या चुरोट पिउने केटी हो पनि भन्थ्यो तरपनि उसको आकर्षक व्यक्तित्वले मलाई लोभ्याइरह्यो।  'हजुरको....तपाईको...तिम्रो घर कहाँ नि?' सोधौँ झैँ लाग्यो तर खै कुन कुराले रोक्यो सोधिन।

अाँखा निन्द्रासंग मित्तेरी लाउन थालेको आभास भैरहेको थियो, कसैले काँधमा थप्थपाएकाले झसंग बिउँझिएँ। उसले बिस्तारै भनि, "मोबाइल दिनु न, घरमा फोन गर्नु थियो।" मैले कुनै प्रतिप्रश्न नगरी उसलाई मोबाइल थमाइदिएँ। उसले नम्बर थिची, पहिलो पटकमा फोन उठेन, दोस्रो पटकमा उठेछ क्यारे। "बाबा म पोखरा गइरहेकी छु, साथीसंग, पिर नलिनुहोला है।" फोन राखेर मलाई फिर्ता दिई। एकपल त म अचम्म परेँ, को साथी? कस्तो साथी? उनिसंग त कोहि साथी थिएन। भो, मेरो सरोकारको बिषय होइन ठानेर म केही बोलिन। मोबाइलमा म्यासेन्जर हेरेँ, साथिले ठेगाना र फोन नम्बर पठाएको रहेछ। फेरी मोबाइल स्विच अफ गरेर सुत्ने प्रयत्न गर्न थालेँ। बेलाबेला उतिर हेर्थेँ, ऊ एकोहोरो अगाडी ड्राइभरको क्याबिन तिर हेरीरहेकि हुन्थी। बिहान पाँच बजे मात्रै हामी पोखरा पुग्यौँ। छेउको सिट खाली थियो, सोचेँ अगाडि तिर गएर बसेकी होली।

मलाई साथीले पठाएको ठेगाना 'बाझपाटन, वडा नं १३' पुग्नु थियो। साथीले लिन आउछुँ त भनेको थियो तर मलाई थाहा थियो झिसमिसमै त पक्कै आउँदैन। म बसपार्क नजिकैको एउटा चियापसलमा पुगेँ। बिहानै भएपनि मान्छेहरुको भिड थियो। हिजो खाना नखाएकोले होला पेटले 'भोक लाग्यो' भनिरहेको थियो। "साहुजी एउटा चिया अनि पाउरोटी पनि" नजिकै खाली टेबलमा बसेर भनेँ। मोबाईल अन मात्रै के गरेको थिएँ, नयाँ नम्बरबाट फोन आइहाल्यो।
"खै, मेरो छोरीलाई दिनुस त।"
"को छोरी? कसलाई खोज्नुभएको?"
"हिजो राति, छोरीेले यो नम्बरबाट कल गरेकी थिई।"
"हो, ऊ मेरो छेउको सिटमा बसेकी थिई, मेरो मोबाइल मागी अनि मैले कल गर्न मात्रै देको हो।"
"तर........"
"के तर?"
"यो कसरी हुन सक्छ?"
"मतलब?"
"एकमहिना अगाडी त्रिशुलीमा खसेको बसमा ऊ पनि थिई, तबदेखी ऊ बेपत्ता थिई।"
एकाएक आङ सिरिङ्ङ भयो, मोबाईलमा निरन्तर बोलेको आवाज आउँदै थियो, म पार्किङ तिर गएर म आएको बस खोज्न थालेँ। लगभग दस मिनेटपछि बस भेटाएँ तर बसमा कोहि थिएनन्। काउन्टरमा गएर सोधपुछ गरेँ उनिहरुले नजिकैको 'स्टाफ होटल'तिर जान सल्लाह दिए। सोधपुछ गर्दै जाँदा होटलमा मैले उक्त बसको कन्डक्टरलाई नास्ता गरिरहेको भेटेँ, उसले मलाई चिनिहाल्यो। लामो स्वास लिएर सोधेँ, "दाइ, अन्तिम सिटमा मेरो छेउमा बसेकी केटी कहाँबाट चढेकी हो? को हो?"

"भाई अन्तिम सिटमा त तिमी मात्र थियौ, अरु कोही थिएन।"
म अवाक भएँ, निकैबेरसम्म टाढा कुनै अनिश्चित बिन्दुमा एकोहोरो हेरेर उभिरहेँ।