बसमा भेटीएकी केटी, भाग २

म अलिअलि डराएको थिएँ। मनभरि हिजो साँझको दृश्य नाचिरहेको थियो। त्यो सुन्दर मुहार, सुनकेसरी झैँ केस, मीठो आवाज, म कसरी विश्वास गर्न सक्थेँ - त्यहि केटी एक महिना अघि त्रिशुलीमा बेपत्ता भएकी केटी हो भनेर। आखिर भुतले कसरी मोबाइल प्रयोग गर्न सक्छ? उसलाई एअरफोनको के आवश्यकता? भुतले पनि चुरोट कसरी पिएको होला? झन त्यसमाथि भुत आगोसंग डराउँछ भन्ने सुनेको थिएँ। उसंग मोबाईल हुँदाहुँदै मसंग मोबाइल किन मागेकी होला? आदि इत्यादि प्रश्नहरुले मनमा पिङ खेलिरहेका थिए। झन त्यसमाथि कन्डक्टर दाईले अन्तिम सिट खाली नै थियो भनेर दावा गरेपछि म निश्चिन्त भएँ - मैले एउटा आत्मासंग यात्रा गरेको थिएँ।
पुन फर्केर म पहिलेकै होटलमा आइपुगेँ तर मैले खाइनसकेको नास्ता साहुजीले मिल्काइसकेका रहेछन, पुन चिया पाउरोटी नै अर्डर गरेँ।
"किन काँपिराको भाई?" साहुजीले भने।
"पोखरामा जाडो बेसी रैछ।" ढाटेँ। मनको डर कसैसंग साँट्ने रहर त थियो तर सानोमा हजुरअामाले सुनाएको कथा सम्झेँ। हजुरआमा भन्नुहुन्थ्यो -


एकदिन हाम्रो गाउँका बैदार बाजे कालीजंगलको मेलामा एक्लै घाँस काट्दै रहेछन। जंगल यति बाक्लो थियो की दिउसै अँध्यारो हुन्थ्यो रे। त्यो जंगलमा पिशाचहरु भेटीन्छन भन्ने बहस बेलाबेलामा गाउँघरमा हुने गर्थ्यो तर  बैदार बाजे आफुलाई निकै शाहसी ठान्थे रे। त्यो दिन बुढा सदाझैँ घाँस काटीरहेका बेला कसैले पिठ्युँमा हात राखेछ, उनले फर्केर को रहेछ भनेर हेर्न खोजेछन तर शरीर मुर्तिझैँ ठिङ्ग - चल्दै चलेनछ। उनी ठाउँको ठाउँमा बेहोस भएर ढलेछन। जब उनले अाँखा खोले उनी ठुलो ओडारभित्र रहेछन, जहाँ भुतहरुको अखडा रहेछ। उनिहरुको ठुलो भोज चलिरहेको रहेछ। भुतहरुले बैदार बाजेलाई स्वागत गरेछन, विभिन्न मिष्ठान्न खान दिएछन। उनलाई राम्रो आथित्य दिएर तीन महिना सम्म त्यहिँ राखेछन। तर एकदिन उनले घर जान्छुँ भनेर जिद्दी गरेपछि भुतहरुले कसैलाई नभन्ने सर्तमा बेहोस बनाई उठाएकै ठाउँमा ल्याएर छोडिदिएछन। यता गाउँघरमा बुढालाई बाघले खायो भन्ने हल्ला चलेको रहेछ। एकदिन बुढा टुप्लुक्क गाउँमा झुल्किएपछि सारा गाउँलेहरु अचम्म परेछन र कहाँ गएको भनेर सोध्नेहरुको लर्कै लागेछ। उनले पनि अनेक झुटा रचेर गाउँलेलाई सुनाएछन। तर उनको मनमा अाफुले भोगेको बिषयमा युद्ध नै चलेको रहेछ। उनलाई कसैलाई भने के होला र भन्ने लागेर एकदिन बुढीलाई सबै वेलिबिस्तार लाएछन तर त्यहि दिनदेखी बुढाको शरिरले चल्न डुल्न बन्द गरेछ। एकमहिना सम्म थला परेर अन्तमा परलोक भएछन। "बाबै यो कुरा साँचो हो कि हैन भगवान जानुन तर भुतको कुरा कसैसंग भन्न हुन्न।" 

हजुरआमाको कुरा सम्झेपछि हिँजोको घट्ना कसैसंग भन्ने आँटै आएन। तर निकैबेर सोचेपछि यौटा जुक्ति निकालेँ। पैसा तिर्नेबेलामा साहुजीलाई भनेँ - "साहुजी, मेरो एउटा साथी एकदिन पुर्वको नाइटबसमा झापा जाँदै रहेछ। अन्तिम सिटमा उ एकजना चुरोट पिउने र मोबाइल चलाको चलायै गर्ने केटीसंग बसेको रहेछ। बिहान त त्यो केटी गायब, बसबाट नझरेरै भित्रै गायब।"
"ए भाई, आत्मा होला, नाइटबसमा भुतसंग घटेका किस्सा त कति छन कति। एकपटक बाग्लुङ जाने बसमा ड्राईभरको छेउमा एउटी चुडेल बसेर बसलाई नै भिरबाट खसालेकी थिई रे।" साहुजी ले ओठ बङ्ग्याउँदै भने ।
साहुजीको कुरा सुनेर जिउँमा झन सरर काँडा उम्रेर आयो। एकपल त साथीको दाईको बिहे भाडमा - मोर्निङ बसमै काठमान्डौ फर्कौँ झैँ लाग्यो। फेरी अर्को मनले सोचेँ, आखिर त्यो केटी भुत नै भएपनि मलाई हानी नोक्सानी पुर्याउन सक्थी, पुर्याइन - त्यसैले मैले व्यर्थै डराउनु उचित होइन। साथीलाई म आइपुगेको सुचना दिईसकेको थिएँ, सायद ऊ आउँदै थियो। 

बिहानको नौ बजे मात्रै साथी अाइपुग्यो, एउटा अलि पुरानो जस्तो देखिने पल्सरमा। साथी नआएपनि म पोखराका मनोरम दृश्यहरुको आनन्द लिइरहेको थिएँ। साथी आएपछि हामीले हात मिलायौँ र केहिबेर एकअर्काको प्रशंसा गर्यौँ र भेटेर खुशी लागेको कुरा गर्यौँ। मिनेटभरमै हामी पोखराको चिसो छिचोल्दै साथीको घरतिर लाग्यौँ - बाझपाटन, वडा नं १३।

घरमा पाहुनाहरु भरीभराउ थिए। बिहेकोझैँ ठुलो डेक्चिमा खाना पकाइएको थियो। "बिहे अाज नै हो र?" सरल संग सोधेँ।
"हैन, यो पाहुनाहरुको लागि, आज साँझ जन्ति जाने भोली फर्किने, खुब रमाइलो गर्नुपर्छ है," मुसुक्क हाँस्दै उसले भन्यो। जवाफमा मैले पनि हाँसे झैँ गरिदिएँ तर मन हाँसेको थिएन।
उसले घरमा सबैसंग काठमान्डौबाट आएको साथी भनेर चिनायो, सबैले मतिर खुब चाख मानेर नजर तेर्साए। नयाँ मान्छे, नयाँ ठाउँ भएर होला मलाई केही अफ्ठ्यारो  भने लागिरह्यो। हामी बडो आज्ञाकारी झैँ भनिएका कामहरु खुरुखुरु गर्थ्यौ। भुटुटु बाइक गुडाउथ्यौ, उ चलाउथ्यो म पछाडि सामान समात्थेँ, हामीले यसरी नै थुप्रै सामान ओसार्यौँ। हामीजस्तै अरु दुइजना पनि थिए जो ओसारपसारको काममा खटीरहेका थिए जसलाई मैले चिनिन। 

"आफ्नै घरको बिहे, मैले त काम गर्नै पर्छ तिमी पाहुनालाई पनि खटाएँ, दुख नमान ल," सरल बेला बेला भन्ने गर्थ्यो तर म यो सबैमा रमाइरहेको थिएँ। मलाई कुनै अफ्ठ्यारो नभएको कुरा म उसलाई भन्थेँ।
"आज सबै जन्ती जान्छन, यता काम गर्ने मान्छे कोहि बाँकी रहन्नन्, अरु सबै त एक महिना अघि नै जोहो गरेर राखेको तर तरकारी, सब्जी त ताजै किन्नुपर्ने भएर मात्र यो दौड धुप गर्नुपरेको," लगभग सबै काम सकिसकेपछि लामो श्वास फेरेर सरलले भन्यो। काम त सकियो तर लुगा मैला भएर हामी जन्ती कम, कामदार ज्यादा देखिन्थ्यौँ।
दिउँसो तीन नबज्दै दुइअोटा बस जन्ती बोक्न तयारी अवस्थामा थिए। सरल र म पनि कोट पाइन्टमा सजियौँ। मैले थप लुगा बोकेर नआएकोले सरलको लुगा लगाएँ। 

जन्ती जानुपर्ने गुन्टेचौर, करिब चार बजे बस दुलहा, जन्तीसहित हिँड्यो। बसभित्रै बन्धुहरु नाच्नमै ब्यस्त देखिन्थे। "यो माटेपानी...यो चिप्लेढुंगा...यो बिन्ध्यावासिनी मन्दिर," सरल मलाई ठाउँहरु चिनाउँदै गयो। हामीलाई सारानकोट, गैरीगाउँ हुँदै गुन्टेचौर पुग्न करिब एक घन्टा लाग्यो।
गुन्टेचौरमा हामीलाई भव्य स्वागत गरियो। केराका खम्बालाई सजिसजाउ गरेर, जताततै रंगीन पताका झुन्ड्याएर प्रवेशद्वार बनाईएका थिए। पन्चकन्या द्वारा जन्तिलाई शुद्ध पारियो। हामी सुस्त सुस्त गुडिरहेको बस अगाडी बेन्डबाजाको 'सिमसिमे पानीमा'को धुनमा उफ्रिरहका थियौँ।
विवाह समारोह सकिएपछि दुलहा - दुलहिलाई पौडेल पार्टी प्यालेसमा लगियो, जहाँ प्रितीभोज आयोजना गरिएको थियो। मैले नाई नास्ती गर्दागर्दै पनि सोल्टीनीहरुले बियर पिउन बाध्य बनाए, सरलले पनि ह्या केही हुँदैन भन्दै उक्स्यायो। केही बेरमै हामी लठ्ठ भइसकेका थियौँ।

"म एकछिन वासरुम पुगेर आउछुँ यार," म वासरुम तिर लागेँ। वासरुमको ढोका भित्रबाटै बन्द थियो तरपनि मैल ढकढक ढकढक ढकढकाएँ। केहिबेरमा ढोका खुल्यो तर लेडिज वासरुम पो रहेछ, बाहिर लेखिएको बोर्ड वास्तै गरिनछुँ। "भुत.....भुत" ढोका खुल्ने बितिक्कै म सरल भएतिर दौडिएँ। "के भो ? के भो?"
सरलले आश्चर्य प्रकट गर्यो। वरिपरिका मान्छेहरु मलाई अनौठो नजरले हेरिरहेका थिए। खाएको बियर कता कता हरायो-हरायो। म डरले काँपिरहेको थिएँ
"के भो के?" सरलले फेरी सोध्यो।
"भुत त्यहाँ...."
"कहाँ?"
"लेडिज वासरुममा।"
"तिनीहरु भुत हैनन् दोस्त, चुडेल हुन।" उ बेसरी हाँस्यो।
"साँच्चै यार, मजाक हैन।" मैले सरललाई बसमा घटेको सुरुदेखी अन्तिमसम्म सबै घटना सुनाएँ। ऊ पनि केही डराएजस्तो देखियो।
"त्यहि केटीले वासरुमको ढोका खोली।" मैले थपेँ। "तिमीलाई भुतले समातेजस्तो छ यार भोली झाँक्रिकोमा जाउँला, लौ यो पिउ," बियर भरिएको ग्लास मतिर दिँदै उसले भन्यो।

"लौ सोल्टीहरु, नाच्ने होइन?" केटीहरुको समूह आएर हामीलाई चुनौती दिए। त्यसपछि हामीपनि डान्सीङ फ्लोर तिर लाग्यौँ। रातीको एक बजिसकेको रहेछ, मान्छेहरुको जमात घट्दै थियो। हामी हिन्दी, नेपाली रिमिक्स गीतहरुमा नाचेझैँ गर्दै थियौँ। "ऊ त्यो केटी हेर न, क्या च्वाँक यार," आँखा चिम्लिएर उफ्रिरहेको बेला मेरो कुममा धाप दिँदै सरलले भन्यो। मैले टाउको मोडेर खुबै बिन्दास पाराले नाचिरहेकी केटीतिर हेरेँ र हेरेको हेर्यै भएँ। "तिमीलाई पनि भुत लागेजस्तो छ ब्रो, त्यो त त्यही बसमा भेटीएकी केटी हो, भुत हो" मैले भनेँ।