बसमा भेटीएकी केटी ३

नाचगानको रमझममा ऊ मज्जैले नाचिरहेकी थिई। सुनौलो केशले रंगी-बिरंगी बत्तीको उज्यालोमा झनै सुन्दरता दर्साइरहेको थियो। हामी बिचको दुरी त्यही दस यार्ड थियो होला र बिचमा करिब पचास साठी जना नाचिरहेका थिए, आफ्नै तालमा। हामी भिड छिचोल्दै उ भएतिर हानियौँ। जब नजिक पुग्यौँ, उ त्यहाँ थिइन।के त्यो हाम्रो भ्रम थियो?

मुटु उफ्रि उफ्रि धड्किरहेको थियो। "खै कहाँ हिँडि? भरखर त यतै थिई," सरलले डराएको आवाजमा भन्यो। "बाहिर गई होला," मैले भनेँ।
"खै, हिँड जाउँ बाहिर।"
"नाईं यार, भो नजाउँ।"
"ह्या, नडराउन, म छु नि।"

सरल झन मभन्दा बढि आफै डराइरहेको थियो, तैपनि हामी बाहिर निस्कियौँ। पार्किङ गरिएका गाडिहरु बाहेक अरु कोहि थिएन। केही पर मोबाईलको स्क्रिनको उज्यालो देखियो, जो हाम्रो बिपरित दिशातर्फ बढिरहेको थियो।
"हिँड, छोपौँ आज यो भुतलाई।" स्याँ स्याँ आवाज निकाल्दै सरलले भन्यो।
"भोली बिहान छोपौँला यार, राती त भुत लाग्ला।"
"जाँड खाको मान्छेलाई भुत सुत लाग्दैन के।" उसले भन्यो।

हामी उसलाई पछ्याइरहेका थियौँ। सायद हामी पछ्याइरहेको उसलाई ज्ञात भैसकेको थियो, उ बेलाबेलामा बाटोबाटै हराउँथी तर अलि अगाडी फेरी झुल्किन्थी। सानो उकालो चढेर दुई अोटा घर भएको ठाउँसम्म आइपुग्दा नपुग्दै ऊ बेपत्ता भई। घरको पछाडी लुकेको होला भन्ठानेर हामी घरको पछिमात्र के गएका थियौँ गजबको दृश्य देखियो। "कुरा यस्तो पो, भोली बिहान आउनुपर्छ, जाऔँ।" सरलले भन्यो। अनि हामी त्यहाँबाट फर्कियौँ।

अर्को विहान नौ बजे मात्रै आँखा खुले, टाउको दुखीरहेको थियो- एक पल्ट बान्ता आउला झैँ भयो। सरललाई बोलाउन गएँ- ऊ पनि भर्खर उठेको रहेछ। "जाऔँ" उसले यति मात्र भन्यो, हामी हिँजोकै ठाउँतिर हिँड्यौँ। एउटै लहरमा दुईवटा घर भएको ठाउँनेर पुगेर सरल बेस्सरी करायो, एकजना अधवैँशे महिला बाहिर निस्किइन। "किन कराएको भाई?" अच्चम्म मान्दै उनले सोधिन।
"तपाईको छोरीलाई बाहिर बोलाउनुस, खुरुक्क।"
"को छोरी? मेरो त छोरी नै छैन।"
"हिजो राती हामीले एउटा केटीलाई तपाईको घर पछाडी झ्यालबाट भित्र जाँदै गरेको देखेको हो नी।" सरलले भन्यो। 
"कस्तो पागल मान्छे रहेछ? मेरो घर पछाडी झ्याल नै छैन," तीँ महिलाले हामीलाई खाउँला झैँ गरि हेर्दै भनिन।
वास्तवमा तीँ घरहरु हिँजोका घरहरु थिएनन्, अँध्यारोमा देखेको ठाउँलाई पुनः चिन्न हामीलाई गाह्रो भइरहेको थियो। हामी अब घरपछाडी झ्याल भएको घर खोज्न थाल्यौँ। निकै सोधपुछ पछि लहरमा भएका दुईवटा घर फेला पार्यौ जसको पछाडी झ्याल थिए। तरपनि डर थियो, कतै हिजो देखेको सबै कुरा भ्रम थियो कि भन्ने। उक्त घर नजिक करिव साठी वर्षका झैँ देखीने बुढा बा भकारो सफा गरिरहेका भेटीए। हामी प्रसंग निकाल्दै थियौँ, ऊ घरबाहिर टुप्लुक्क देखापरी र हामीलाई देखेर निकै डराई।

ऊ हाम्रो अगाडी सुँक्क सुँक्क गर्दै रोइरहेकी थिई।
"हिजो त्यसरी किन भागेको?"
"उहाँलाई देखेर, काठमान्डौबाट फर्किदा, बसमा, उहाँको नम्बरबाट घरमा फोन गरेकी थिएँ त्यसैले।"
"किन फोन गरेको?"
"मेरो घरमा सबै मलाई मरेकि ठान्छन त्यसैले।"
"के हो यो नौटंकी? मान्छेलाई रात न कुरात भुत बनेर तर्साउने।" म चिच्याएँ।
उसले आफ्नो वृतान्त सुरु गरि:
मेरो घर थानकोट हो। मेरो बाबाको बिजनेस छ, भाई इन्जिनियरिङ पढ्दै छ र मामु हाउसवाइफ। बाबाले मलाई डक्टर बनाउन चाहानुभएको थियो तर म एसएलसी पछि आर्टस कलेजमा भर्ना भएँ किनकी मलाई लेखक हुनु थियो। त्यसबेलादेखी मेरो घरमा राम्रो सम्बन्ध भएन। उनिहरुले मेरो पकेट खर्च बन्द गरे, राम्ररी बोल्न छोडे र म बिग्रेको घोषणा गरे। बुवाले जहिले मलाई गाली गर्न थाल्नुभयो र जिन्दगीमा मैले केही गर्न नसक्ने ठोकुवा गर्न थाल्नुभयो। यो सबदेखी थकित भएर मैले घर छोड्ने निर्णय गरेँ र पोखरा आउने निधो गरेँ। बाटोमा त्यसै दिन त्रिशुलीमा बस खसेको रहेछ, जाम थियो। प्रहरीले उद्धार गरिरहेको रहेछ। बस क्रेनको माध्यमबाट निकालिदै थियो। घटनास्थलमा फेला गरेका सामान प्रहरीले सानो खाल्डोमा थुपारेर राखेको थियो, मैले मेरो आइकार्ड र केही लुगाहरु भएको ब्याग उक्त सामानमा मिसाईदिएँ। केही समयपछि म बेपत्ता भएको खवर बाहिर आयो। सुरुमा त खुब रमाईलो लाग्यो। म एक महिना पोखरामा साथीकोमा लुकेर बसेँ तर पछि परिवारलाई मिस गर्न थालेँ अनि पुनः घर फर्किने निधो गरेँ। जब म घर पुग्दै थिएँ अलिअलि अँध्यारो भैसकेकोले मलाई कसैले चिनेन तर घर नजिकै पुग्दा बाबा कसैसंग कुरा गरिरहेको सुनेँ। उहाँ भन्दैहुनुहुन्थ्यो- "एउटा काम नलाग्ने छोरी थिई, मरी, आनन्द भो।" यति सुनिसके पछि म त्यहाँबाट फुरुक्क फर्किएँ र पोखराको गाडि  चढेँ र त्यहि गाडिमा तपाईं भेटीनु भो। अहिले म साथीसंग बसिरहेकी छुँ। हिजो बिहेमा तपाईलाई देखेर मेरो पोल खुल्ने डरले म भागेर आएकी हुँ, मैले भुत बनेर तर्साउन खोजेको होईन तर प्लिज म फेरी घर फर्किन्न चाहान्न।

सरल र म मिलेर हामीले उसलाई खुब सम्झायौँ तर ऊ मान्दै मानिन। जब पछि उसले फोनमा बुवाआमासंग कुरा गरि, सायद आमाको रुवाईले हुनसक्छ ऊ केही नरम देखिई। फोनमा उसको बुवाले उसलाई काठमाण्डौको बसमा चढाइदिन आग्रह गर्नुभयो। हुन त ऊ आफैपनि फर्किन सक्थी होला तरपनि सरल र म उसलाई बसपार्कसम्म छोड्न राजी भयौँ। जन्तिसंगै हामी तीनैजना बाझपाटन फर्कियौँ। 

फुलबारीबाटै हामी बाझपाटन नगई बसपार्कतर्फ लाग्यौँ। उ खुशी थिइन तर शान्त थिई। एकमन त मलाई लाग्यो उसलाई मन पराएको कुरा भनिदिउँ अथवा विवाहकै प्रस्ताव गरुँ तरपनि हिम्मतै आएन तर मनमनै कल्पेँ 'एकदिन मन पराएको कुरा' जरुर भन्नेछुँ। हामी पहिलकै चिया पसलमा चिया पिउन गयौँ, म बसेकै टेबलमा बस्यौँ र उही चिया अर्डर गर्यौँ।
हामी तिनै जना चुपचाप थियौँ। "तिमी पनि साहित्यको मान्छे रहिछौ, काठमान्डौ फर्केपछी भेटौँला ल," मौनता चिर्दै मैले भनेँ।
उसले टाउको मात्रै हल्लाई तर केही बोलिन।
"चुरोट पिउँछौ?" सोधिहालेँ।
उ केही लजाएजस्तो देखिई। "त्यो दिन एकदमै तनाबमा थिएँ नत्र म चुरोट पिउँदिन के।" उसले भनि।

सरल टीकट काट्न काउन्टर तिर हानियो। ऊ र म मात्रै त्यहाँ थियौँ। "तिमी राम्री छौ," मैले मनमा लागेको कुरा खोलेँ। "कसरी थाहा पाउनु भो? सुन्दरता त अदृश्य कुरा हो।" उसले प्रतिप्रश्न गरि, म नाजवाफ भएँ। एकैछिन पछि सरल हातमा एउटा टीकटका साथमा झुल्कियो। 

हामी बस खोज्न थाल्यौँ, ग १ ख ३७०९ नम्बरको बस। करीब पन्ध्र मिनेट खोजीसकेपछी एउटा कुनामा बस त भेट्यौँ तर हिड्ने समय एक घन्टा बाँकी थियो। सरललाई बारम्बार घरबाट फोन आईरहेको थियो। घरमा बिहेको अस्तव्यस्तता थियो, सरल र म एक अपरिचित युवतीलाई बसपार्क छोड्न आएका थियौँ।

"म जान्न नि ल, मलाई त पोखरा नै मन पर्छ," उ बिचबिचमा भन्न भ्याउँथी। "तिमी र म संगै घुम्न पोखरा आउनु पर्छ ल तर घर त फर्किनुपर्छ के" म भन्थेँ। हामीले एकअर्काको फोन नम्बर साँटासाँट गर्यौँ र काठमाण्डौमा भेट्ने बाचा पनि गर्यौँ। बस जाने समय भयो- हामीले उसलाई बसमा बसाएर बिदा गर्यौँ। बस पर मोडसम्म नपुगुन्जेल ऊ झ्यालबाट टाउको निकाल्दै हात हल्लाईरहेकी थिई। मलाई लाग्दै थियो- 'के ऊ पनि मलाई मन पराउछे?'
बाटोमा उसकै बारेमा कुरा गर्दै हामी फर्कियौँ। मैले उसलाई मन पराएको कुरा सरललाई भनेँ, बाटोभरी मलाई उसले अनेकथरी भनेर जिस्काईरह्यो। दिनभर फेरी उहीँ दैनिकी दोहोरियो, खाने- पिउने नाच्ने। 

साँझसम्म पनि नाचगान भइरहेको थियो तर सरल र म साह्रै थाकेकाले सुत्न गयौँ। टीभी अन गर्यौँ, न्युज ब्रेकिङमा आईरहेको थियो- 'त्रिशुलीमा ग १ख ३७०९ नम्बरको बस खस्यो, यात्रु सबै बेपत्ता।' आफुमाथी चट्याङ खसेको महसुस भयो। हतार हतार उसलाई फोन गरेँ तर सम्पर्क हुन सकेन।

जिन्दगीमा कति यात्रा गरियो, जहिले एउटै आशा लाग्थ्यो कतै उ छेउमा टुप्लुक्क बस्न आउँछे कि? अहँ त्यस दिनदेखी उ कुनै बसको अन्तिम सिटमा बस्न आईन - बसमा त के ऊ कतै भेटीइन।