पिपल बोट


त्यो सल्लेरी
जहाँ सल्लीपिर माथि
खेल्थ्यौँ चिप्लेटी
मन्दिरअघिबाट नियाल्थ्यौँ मन्दिर
निलो नभमाथि वहिरहेको बादल
पखेटा हल्लाईरहेको पिपल
नागबेलि झैँ बगिरहेको नहर
सुस्ताइरहेको सिल्तीको रुख
रमिते बनेको बजरंगी पहाड

बोकेर सिउँता र सल्लीबोक्रा हातभरी
पुग्दथ्यौँ त्यो गाउँ दगुरी दगुरी
छिचोल्दै बाटोका घोडिका लहरा
अोर्लिन्थ्यौँ ती साना पाखा पहरा
पिपलबोटको मैदानमा एकफेर पल्टेर
फर्किन्थ्यौँ घरघर भएसी अबेर

त्यीँ पथ्थरका कलात्मक देवल
लाग्थे आफ्नै आफन्त जस्ता
युगौँदेखी कसैलाई पर्खिरहेका
सम्झिरहेका कल्पिरहेका
छोडेर हिँडेका बन्धुहरुलाई

त्यो वन
जहाँ महिनौँ बिताउँथ्यौँ खर्क लाएर
काफल, ओखर, गुहेँली खाएर
लहरै उम्रेका च्याउ - कुरेला
पैयुँको फेदमुनी फलेका मलेवा
भिजाउथ्यौँ आ-आफ्ना कलिला ओठ
विश्राम दिन्थ्यो त्यै पिपलको बोट
मेल खनाया, हजारी बाबरी
अडेर बसेको छ मेरो मनभरी