युग

खुशीहरुको एउटा बथान
आउँछ झम्टिन्छ र मलाई
घाइते बनाएर जान्छ ।

पिडाहरुको मुस्लो एकदिन
मल्हम लगाउन आउँछ
अनि लैजान्छ
रहरहरुको शहरमा।
अाफ्ना जस्ता पराइहरु
पराइ जस्ता आफ्नाहरुको
छोडेर जान्छ बिचमा
र हराउँछ
पहेँलो क्षितिजमा।

युग
जहाँ कालिदासहरु
कहलिन्छन विद्वान,
डाँकु रत्नाकर
बनाइन्छ वाल्मीकि,
धनुर्धर एकलव्य
पन्छाइन्छ गुरुबाटै,
अग्नको वीर कर्ण
काटिन्छ भाइबाट।
त्यसैले,
किन नबनुँ रावण
र नगरुँ बिद्रोह?
भलै हजारौँ रामहरु
जलुन इर्ष्याले।

त्यसैले,
म निश्चय गर्छु,
महान दुर्योधन बन्ने।
अनि,
खुशीहरुको एउटा बथान
आउँछ झम्टिन्छ र मलाई
घाइते बनाएर जान्छ ।
©Samarpit_Prakash
Picture source: Google