त्यस्तो

"नाम के रे?"
"थाहा होला, कि अौपचारिकताको लागि मात्रै सोधेको?"
"साँच्चै थाहा छैन, ढकालकी छोरी भन्ने चाहीँ थाहा छ।"
"सुधा" उ मुस्कुराई, "अनि नामै थाहा नभएको केटीसंग किन बिहे गर्न लाको नि?"
"कोले भन्यो र बिहे गर्न ला, हेर्न पो आको त।"
"म बस्तु हो र हेर्नलाई, मन परे गर्ने नत्र नगर्ने?" चेपारे पारामा उसले भनी।

दशैँको मौकामा घर गएको अवशरमा हजुरमाले जबरजस्ती लिएर आउनुभएको थियो मलाई केटी हेर्न, जसको मलाई नाम समेत थाहा थिएन। उसको अन्तिम प्रश्नले मलाई जवाफहिन बनायो। उसै त मलाई केटीहरुसंग कुरै गर्न नआउने। 

"के काम गर्नु हुन्छ?" उसैले अर्को प्रश्न थपि।
"लेख्छुँ। लेखक हुँ," जवाफ फर्काएँ।
"कति कमाउनुहुन्छ?"
"लेखहरु पत्रिकाले छाप्यो भनेँ कहिलेकाहीँ महिनामा पन्ध्र सोह्र सम्म हुन्छ, नत्र त त्यो नि हुँदैन।"
"त्यतिले कसरी पाल्नुहुन्छ? बिहे अगाडि राम्रो काम खोज्नु पर्दैन?"
"ला, त्यो त मैले सोचिन। तिमीले पाले पनि हुन्छ नि मैले नसके," मैले जवाफ फर्काएँ। उसले मलाई यसरी हेरि, मानौँ कि मैले अर्कै ग्रहबाट झरेको प्राणी हुँ।
"अनि गर्लफ्रेन्ड?"
"के गर्लफ्रेन्ड?"
"गर्लफ्रेन्ड छैन?"
"छैन। छैन मात्र हो र, कहिल्यै भएन।" सोचि होला कस्तो घनचक्कर केटा रैछ।
"अनि कसैसंग 'त्यस्तो' गर्नु भाछैन।" उसको आसय मैले बुझेँ तर जवाफ के दिने भन्नेमा म अलमल परेँ। अब एउटा घटाएर भनौँभने माइनसमा उत्तर जान्छ, यसपटक साँच्चै बोल्ने रिस्क लिएँ। "अहँ छैन, किन बिहे गर्नलाई पनि एक्सपेरिएन्स चाहिन्छ र? अनि तिमीले?"
"हेर्नुस म त झुटो बोल्दिन, मैले त गरेको छुँ चार पाँच संग।"
"ओ एम जी, पैंतालीस जनासंग?"
"छि, मलाई त्यस्तो बिग्रेको सोच्नु भा, पाँच जनासंग भनेको, एन्ड दे अार माई एक्स्ज। हाउ क्यान यु एक्स्पेक्ट एनिवन टु स्टे भर्जिन टिल द एज अफ ट्वान्टी थ्रि?" उसको इमान्दारिता मलाई मन पर्यो, नत्र को केटिले यसरी खुलेर भन्न सक्छे कि यतिजना संग 'त्यस्तो' गरेको भनेर।

दुई बर्षअघि जब म मास्टर्स गर्दैथेँ, एकजना सिनियर दाइ हुनुहुन्थ्यो, राजन। हामी उहाँलाई 'राजु दाई' भन्थ्यौँ, चार पाँच जना जुनियरहरुलाई जम्मा पारेर गफ दिनुहुन्थ्यो- "हेर भाइहो जिन्दगीमा दुई दर्जनलाई भोगियो होला, तर दिल छुने कोहि भेटीन यार।" हामी खुबै चाख मानेर उहाँका कुरा सुन्थ्यौँ। बेला बेला उहाँ मलाई सोध्नु हुन्थ्यो -"सिर्जन भाई, तिमीले कति जनासंग गर्यौ भन त अहिले सम्म?" साथीहरुकै अगाडी त्यसरी सोधिदिँदा म इज्जत जोगाउनकै लागि भनिदिन्थे- "तीन चारलाई गरियो होला दाइ।" तर वास्तविकता यस्तो थियो कि, कुनै केटीलाई किस नि गर्ने अवशर मिलेको थिएन।

लाग्यो, यसरी त जिन्दगी चल्दैन, एउटा गर्लफ्रेन्ड त बनाउन पर्यो। क्लासमा एउटी राम्री केटी थिई, भो नाम नभनौँ, निकै हिम्मत गरेर प्रेम प्रस्ताव गरेँ। त्यो पनि फेसबुक बाट। म्यासेज सिन भयो जवाफै अाएन। अर्को दिन कलेज जान पनि मलाई हम्मे पर्यो। ऊ संग नजर नजुधाउन, मैले दशौँ पल्ट जुत्ताका प्वाँल गन्नु पर्यो। तर, कलेज छुट्ने बितिक्कै उसले बोलाईहाली - "सिर्जन एकछिन रुक है, तिमीसंग कुरा गर्नु छ।" मन त भाइब्रेसन मोडमा पो गयो एक्कासी। लामो श्वास फेरेँ। ऊ नै बोल्न थालि, "हेर तिमीजस्तो राम्रो मान्छेले त्यस्तो गर्न सुहाउँदैन।" "सरी," मैले भनेँ। लाग्यो, हो म जस्तो राम्रो मान्छेले कसैलाई प्रपोज पनि गर्न हुँदैन। राम्रा मान्छेहरु त ढुंगाबाट बनेका हुन्छन। उसंगको मित्रता पनि टुट्यो सधैँको लागि।

किताबले मेरो प्रेम जीवन तहस नहस पारेको थियो। किताबसंग रुमल्लिरहँदा धेरै कुरा छुटेको थियो जिन्दगीबाट। मास्टर्समा पुगिसकेपछि बल्ल मलाई महशुस भयो, अब प्रेम सम्भव छैन। अरेन्ज भए नि बिहे त गर्नपर्छ। घरमा कोहि छ कि छैन, हैन भने हामी केटि हेर्न थाल्छौँ भनेर सोध्थे। एक हिसाबले मैले अनुमति नै दिइसकेको थिएँ। तर म आफैलाई थाहा थिएन, मलाई आखिर कस्तो जिवनसाथी चाहिएको हो। के मैले त्यस्तै मान्छे खोजेको थिएँ, जोसंग म अहिले विवाहपुर्वको संवादमा थिएँ। जसले आधुनिकता अपनाईसकेपनी जिन्दगीभर एउटा पतिले पत्नीलाई पाल्नुपर्छ भनेर विश्वास गर्छे। जो विवाह पुर्वको 'त्यस्तो'लाई सामान्य ठान्छे।

"कहाँ हराउनु भाको?" म वर्तमानमा फर्किएँ।
"अनि कस्तो लाग्यो म?" ऊ पुन: प्रश्न गर्छे। मैले कस्तो मान्नुपर्छ उसलाई, म दोधारमै हुन्छुँ तर पनि जवाफ फर्काउछुँ-"राम्रो"।
"यदि मैले हुन्छ भनेँभनि?"
"के हुन्छ?"
"म विवाह गर्न तयार छुँ भनेँभनि?"
"ल। मैले तिमीलाई बिवाह गर भनेकै छैन।"
"तपाई मलाई हेर्न आउनु भएको अर्थ त्यहि होइन र?"
"होईन," मैले धेरै जवाफ दिनु उचित ठानिन।
हामी वैठककोठामा फर्कियौँ, जहाँ मेरा सम्भावित ससुराली पक्षकाहरुको बाहुल्यता थियो। "अनि के निश्कर्षमा पुगियो त?" कसैले सोध्यो। "एक घन्टामा निश्कर्षमा पुगिन्छ त?" मैले भनेँ। "हामी केही समय एक अर्कालाई बुझ्छौँ, अनि निश्कर्ष दिन्छौँ नि," सुधा बोली। के उसलाई म मन परेको थिएँ?

बिदा सकियो अनि म पनि काठमान्डौ फर्केँ। बसपार्क पुग्दा अवेर भैसकेको थियो। आकाशे पुलको तल म बानेश्वरको गाडि कुरिरहेको थिएँ। यतिकैमा एउटा महिला आवाज सुनेर म झस्किएँ- "दाइ जाने हो?" कसम, यसरी जाने हो भनेर त अहिलेसम्म खलासीले बाहेक अरु कसैले सोधेकै थिएन। "कता जाने?" बुझेकै भए पनि प्रश्न गर्न परिहाल्यो।
"होटलमा लिनुहुन्छ भनेँ दुई हजार, कोठामा लिनुहुन्छ भनेँ पच्चिस सय, रातभरको।"
"कोठामै जाउँ न त।"खै यस्तो भन्ने मान्छे त म थिइन तर पनि त्यसबेला मलाई यहि भन्न आयो। करिव आठ बजे हामी माईक्रो चढ्यौँ।

"किन गर्छौ यस्तो काम?" कोठामा पुग्ने बितिक्कै एउटा अभिभावक झैँ मेरो मुखबाट फुत्कियो, जुन यात्राभरी मेरो मनमा थियो।
"पढ्न।" एक शब्दमै कति गहनता थियो उसको जवाफमा।
"जाऊ, खाना पकाउ। भोक लाको छ नि।" एक प्रकारको अर्डर थियो त्यो उसको लागी। उसले चुपचाप खाना पकाई एउटा निरीह प्राणी जस्तै। हामीले चुपचाप खाना खायौँ। सायद ऊ महशुस गर्दै थिई, जस्तै कि म उसको बर्षौँ अघि हराएको आफन्त हुँ।

"यदि पढ्नलाई मैले सहयोग गरेँ भनेँ?" मौनता भंग भयो?
"त्यतिकै त म पैँसा लिन्न," शरिर बेचे पनि उसले इज्जत बेचेकी थिईन।
"ल तिम्रो पढाइ नसकिउन्जेल तिम्रो हरेक खर्च म बेहोरिदिन्छुँ, तिमी अाफ्नो खुट्टामा उभिएपछि मलाई फिर्ता गरिदेउन।" उसले अनकनाउँदै हुन्छ भनि।

"कता पढ्छौ?"
"अस्कल।"
"कुन इअर?"
"सेकेन्ड।"
"कता बस्छौ?"
"गोंगबु नजिकै कोठा छ।"
मैले टाउको हल्लाएँ अनि एकछिन घोरिएर बाहिर  जाने तरखर गर्दै भनेँ, "भोलि तिम्रो कोठा सार्नुपर्छ, अब तिमी होस्टेलमा बस्ने। आज म साथीको कोठामा जान्छुँ सुत्न," केही कडा पारामा मैले भनेँ।
"किन 'त्यस्तो' नगर्ने?" उसको अनुहारमा केही आश्चर्यता थियो।
"तिमी आफ्नो खुट्टामा उभिसकेपछि आउ, अनि सधैँ 'त्यस्तो' गर्नुपर्छ ल।" म फिस्स हाँसे।

उसलाई एउटा होस्टेलमा मैले खर्च बेहोर्नेगरि बस्ने व्यवस्था मिलाईदिएँ, अनि हरेक महिना उसको बैंक खातामा खर्च पठाईदिन थालेँ। यदाकदा उसलाई भेट्न पनि जान्थेँ तर उसले कहिल्यै खुलेर बोलिन। एकपटक उसलाई मैले सोधेँ, "तिमीलाई म भेट्न आएको राम्रो लाग्दैन हो?"
"हैन, हजुरनै त हो मेरो आफन्त भनेको, तर हजुर आएको बेलामा चिया पनि खुवाउन पाउँदिन, दुख लाग्छ।" उसले भनि। उसंग धेरै कुरै हुन्थेन। म प्राय उसको पढाईको हाल खवर सोध्थेँ अनि बाहिरिन्थेँ। तर मैले कहिल्यै उसको नाम सोधिन न उसले नै सोधि।

बिस्तारै ऊ संगको भेट पातलिन थाल्यो। म मेरो नयाँ पुस्तकको प्रकाशनमा व्यस्त भएँ। तर उसलाई खर्च पठाउन छोडेको थिईन। पुस्तक दोस्रोपटक सम्पादन गरेर छापामा पठाउन तयारी अवस्थामा थियो। एकदिन फुर्सद पारेर, निकै पछि उसलाई भेट्न गएँ तर उसले होस्टेल छोडिसकेकि थिई। मेरो नाममा एउटा चिठी छाडेकि रहिछे-

"प्रिय नाम थाहा नभएको मान्छे,
मलाई अब खर्च नपठाउनुहोला। मैले पढाइ सकिसकेँ, अहिले म सरकारी जागिर गर्दैछुँ। सिरहा जिल्लाको सामान्य प्रशासनमा कार्यरत छुँ। माया लाग्योभनेँ भेट्न आउनुहोला।
उहीँ नाम गुमाएकी मान्छे।" 

पुरै पानाको बिचमा लेखिएका केवल तिन लाइन शब्दहरु पढेर यति खुशी जिन्दगीमा कहिल्यै लागेन।

लगभग दुई महिनापछि दशैँ आयो। परिवारसंग दशैँ मनाउन नपाएको दुई बर्ष भइसकेको थियो। यसपाली पनि पुस्तक बजारिकरणको लागि काम गर्नु परेकाले घर नजाने निश्चित थियो। काठमान्डौ सुनसान हुन थालिसकेको थियो।
एक शुक्रबार कोठाको महशुल बुझाउन भनेर म घरबेटी कहाँ गएँ। घरबेटी सबैभन्दा माथिल्लो तलामा बस्नुहुन्थ्यो। म जाने बितिक्कै घरबेटी दिदिले सोध्नुभयो -"सिर्जन भाईको थर केरे?"
"शर्मा। किन र दिदी?"
"आज दिउँसो एकजना नानी, तिम्रो ढोकामा उभिरहेकी थिई, राम्री-हिस्सी थिई। मैले कसलाई खोजेको भनेर सोध्दा, यो कोठामा बस्ने मान्छेको नाम के भनेर सोध्धै थिई। मैले नाम सिर्जन हो थर थाहा छैन भनेँ। थाहा पनि थिएन।" उहाँले भन्नुभयो।

त्यहि दिन साँझ, मेरो फेसबुकमा निकै पछि म्यासेजबक्समा रातो नोटीफिकेसन देखियो-"प्रिय सिर्जन, हजुरले कुनैबेला भन्नुभएको थियो नि, आफनो खुट्टामा उभिसके पछि 'त्यस्तो' गर्न आउनु भनेर। के तपाईं मलाई जिन्दगीभर 'त्यस्तो' गर्ने अवशर दिनुहुन्छ?"

के मैले खोजेको जिवनसाथी यस्तै थियो?