बाँदर

सुन न
एउटा कुरा भन्छु है
तिमीलाई अस्ति भन्छुँ
भनेकी थिएँ नि
जरुरी छ
जति जरुरी छ
तिमीलाई अक्सिजनको
र मलाई तिम्रो

ल छोटोमा भन न है
के रहेछ अक्सिजन
जत्तिकै जरुरी
नत्र अचेल त म
क्लोरोफमको श्वास
लिन थालेको छुँ
अलिअलि छुँ हतारमा
जति हतार हुन्छ
चाँदनिलाई पृथ्वीको
गर्न परिक्रमा
केही पछि सुन्छुँ नि
तिम्रो महाभारत

सुन न
म त्यो कुरा भनुँ?
अन्तरिक्षमा प्रक्षेपण गर्न
तयार यान जस्तै
अडेर बसेको छ
मेरो मनमा
के तिमी तयार छौ?
जति तयार थिई
शिखण्डी भिष्म पितामहलाई
ढाल्न कुरुक्षेत्रमा
के तिमी तयार छौ
अभिमन्यु झैँ चक्रब्युहमा
प्रस्थान गर्न?

पर्ख है
म व्यस्त छुँ
चट्टान पल्टाउँदै छुँ
बाटो बनाउँदै छुँ
भिरलाई गोरेटो
गोरेटोलाई मैदान
जहाँ गुड्नेछ सवारी
तिम्रो र मेरो
हाम्रो
पर्ख केही समय
म सिक्दै छुँ
पत्थरलाई मत्थर बनाउने कला
अलकेमिस्टले
फलामलाई सुन बनाए जस्तै
केही पछि सुन्छुँ नि
तिम्रो महाभारत

सुन न
अब चाहिँ नाईं नभन नि
नत्र जसरी मेनका
झरेकी थिई स्वर्गबाट
विश्वमित्रको साधना सकाउन
म पनि झरिदिन्छुँ
तिम्रो तपस्या सामु
देखाउन बास्तविकता।
के म होईन र तिम्री
सुनकेस्रा
मलाई पनि जानू छ यात्रामा
जसरी निस्केकी थिई
उर्वशी स्वर्गको यात्रामा
छोडेर पुरुरवा

एकछिन है
केही दुश्मनलाई
म मित्र बनाउँदै छुँ
तिनीहरुका भाला अघि
म फूल तेर्स्याउँदै छुँ
फूलहरु अोइलाइरहे,
कहिल्यै फक्रिएनन्
ती हतियार
म एउटा बिरुवा हुर्काउँदै छुँ
जो फुलाउनेछ सुमनहरु
हुनेछन शक्तिशाली
ब्रह्मास्त्र भन्दा
त्यसपछि मात्रै
सुन्छु नि
तिम्रो महाभारत

सुने सुन, नसुने नसुन
यो मंसिरमा
मेरो बिहे छ
खान आउनु
फ्रि को मासुभात
नत्र बस्नु
क्लोरोफमको मास्क लाएर
बाँदर।