सेकेन्ड हेन्ड जिन्दगी

"मलाई बैकल्पिकमा राखन ल।" मैले निधारमा लत्रिएका र पसिनाले भिजेका केशहरु माथितिर मिलाउँदै भनेँ
"कस्तो बैकल्पिक?" प्रश्नको एउटा तगारो मेरो अघि तेर्सियो।
"हेर प्रेम एउटा रथ हो, महिला पुरुष भनेका त्यसका दुई पांग्रा, कहिलेकाहीँ एउटा बिग्रेपछि अर्को स्पेअर चाहिन्छ क्या, म त्यहि स्पेयर पार्ट ल," म हाँसेँ।
"यदि म अाफै पहिला बिग्रेभनेँ नि?" तल्लो ओठलाई लेब्र्याउँदै उसले प्रश्न गरि, जसको उत्तर मसंग थिएन। 
"तर नि समिरा हाम्रो जोडि चैँ साह्रै जम्थ्यो क्या।"
"सि डन्ट ट्राई अन मी, फाइन्ड समअन हु इज सिंगल, मेरो ब्वाईफ्रेण्ड भाको थाहै त छ तिम्लाई।"
"मलाई कलेज नसकिन्जेलसम्म त ब्वाईफ्रेन्ड बनाऊ"
"नो वे।" यतिमात्रै सुनेँ, केही जवाफ दिइन।
"नो" उसको प्रमुख हतियार थियो। नाईँ भनेपछि सबै सकियो, कुनै थप अनुरोध नगरेकै राम्रो। तर त्यसपछि पनि हामी असल साथी भनेँ भइनै रह्यौ।
हामी मिल्ने साथी थियौँ, तर पार्टटाइम मात्रै। पार्टटाइम यस अर्थमा कि कलेज होउन्जेल जहिले संगै, कलेज छुटिएपछि हामी अपरिचित जस्तै हुन्थ्यौँ।

हामीले जन्मदिनमा कहिल्यै उपहार आदान प्रदान गरेनौ केवल शुभकामना मात्र साँट्यौँ। कलेजको क्यान्टिन बाहेक हामीले कहिल्यै संगै भोजन गरेनौँ। उसले आफ्नो ब्वाइफ्रेन्ड भएको त भनि तर न कहिल्यै मलाई आफ्नो ब्वाईफ्रेण्डसंग भेटाइ न कुनै केटी सहपाठीलाई मेरो नजिक पर्न दिई। एकपटक आकृतिसंग असाइनमेन्टको बारे छलफल गरिरहेका बेला उ आएर आकृतिलाई अलि पर लिएर गई र कानमा केही खासखुस गरि, त्यस दिनदेखी आकृतिले मसंग कहिल्यै राम्ररी बोलिन। उसले खै के भनि थाहा छैन तर मलाई उसको यो क्रियाकलाप मन परेन। मैले यहि कुरालाई लिएर उसंग झगडा पनि गरेँ र दुरि बनाउन खोजेँ तर ऊ उसैगरि कक्षामा सधैँ मेरै छेउमा आएर बस्थी। जब ऊ मलाई हेरेर बिनाकारण मुस्कुराउँथी मेरो मनमा भएको तुष, आकाशबाट खसेको असिना धर्तिमा बिलाए जसरी हराउँथ्यो।

कलेजका शैक्षिक भ्रमणमा हामी साथमै हुन्थ्यौँ। ऊ जहिले आफ्ना हातहरुले मेरो पाखुरा अठ्याएर हिँड्थी। देख्नेको लागि ऊ मेरो शत प्रतिशत गर्लफ्रेण्ड थिई तर वास्तवमा ऊ थिई मेरो साथी मात्र । हाम्रा सहपाठीहरुले हामीलाई जहिले पनि जोडी नै सम्झे होलान तर उसले कहिल्यै मलाई त्यो हैसियत प्रदान गरिन। मलाई थाहा थियो जबसम्म ऊ मेरो साथी हुन्छे मेरो फेसबुकको स्टेटस 'सिङ्गल' बाट 'इन अ रिलेसनसिप' हुनेवाला थिएन र मलाई सिंगलमै युवाअवस्था पार गर्नु थिएन। संगैका साथीहरुले हप्तै पिच्छे नयाँ प्रेमकथा सुनाइरहँदा मेरो प्रेम चाहिँ जहिले 'इट्स कम्प्लिकेटेड' मै सिमित रह्यो।

समिराबाहेक मेरो मिल्ने साथी भनेको कैलाश थियो। सेकेण्ड सेमेस्टरको अन्तिम परीक्षा सकिएको दिन हामीले उसको कोठामा अघोषित भोड्का पार्टी आयोजना गरेका थियौँ। खाएको सुरमा मैले मेरा सारा बेदना उसलाई पोखेछुँ।
"ह्या, तँ त लुजर होस, यु डन्ट ह्याभ गर्लफ्रेण्ड टील मास्टर्स, जाबो एउटा त्यो समिरालाई नि पट्याउन नसक्ने अाजदेखी तेरो मेरो फ्रेन्डसिप सकियो।" जिब्रो लर्बराउँदै उसले भन्यो। सालेले झन केही सहानुभुति दिन्छ भनेको त उल्टै मेरा पोखिएका बेदनाहरुमा आगो लगायो।
"उसको ब्वाइफ्रेन्ड छ रे यार"
"तैँले देख्याछस् र, नदेखेको कुराको कुनै अस्तित्व हुँदैन।"
"तैँले आफ्नो दिमाग देख्याछस् र? के म यो सम्झुँ कि तेरो पनि दिमाग छैन।" यसपाली मेरो आवाज चर्को थियो। एकछिन सुन्यता छायो, सुन्यातालाई तोड्दै उसले भन्यो, " किपर नभएको गोलपोष्टमा त जसलेपनि गोल गरिहाल्छ नि, यदि छोरो होस भने लु यस्तोमा गोल गरेर देखा" उसले उक्सायो। त्यहि सुरमा कल हानियो समिरालाई। घडीमा रातको बाह्र बज्न केही मिनेट बाँकि थियो तैपनि कल हानेँ।  पाँच पटक सम्म कल उठेन, छैटौँ पटक मसिनो आवाज सुनियो, "हेलो"
"आइ लभ यु" मेरो पहिलो वाक्य थियो।
"पागल भयौ कि क्या हो?" यसपटक उसको आवाज ठुलो भयो।
"हो, तिम्रो मायामा।"
"सुयोग, हैन के भयो तिमीलाई? किन यति राती यस्तो बकवास गरिराछौ?"
"आई एम इन लभ वीथ यु,आई एम सिरिअस।"
"हेर अहिले सुत, भोली बिहान यसबारे कुरा गरौँला।"
"पहिला जवाफ देऊ, डु यू लभ मी?"
"नो"
"त्यसो भए मर त जा बोक्सी, कुकुर्नी, बाँदर्नी, पिचासकि छोरी।" जानेभरका गाली एकैपटक रित्याएँ। मैले के गाली गरेँ भन्नु गाली गर्ने त म भित्रको भोड्का थियो।
"तिम्ले मलाई गाली गरेको? रूक भोली मेरो ब्वाईफ्रेन्डले तिम्रो के हाल बनाउँछ।" दुबैतिर आवाज चर्किदै थियो। यतिकैमा उतापट्टी तेस्रो व्यक्तिको आवाज सुनियो, "के भो छोरी? को संग झगडा गरिरा यति राती," सम्भवत उसका बुवा थिए।
"हेलो को हो?" उक्त व्यक्तिको आवाज सुनियो।
"तेरो ज्वाइँ," यति भनेर फोन काटीदिएँ तर मनमा कताकता चिसो पस्यो।

एक हप्ता पछि नै तेस्रो सेमेस्टर सुरु भयो। पहिलो दिन त कलेज जान नै कस्तो डर-डर लागेर आयो। कतै समिराको ब्वाईफ्रेण्ड ग्याङ लिएर कुरेर पो बसेको छ कि? ब्वाईफ्रेण्ड नै किन, बुवा नै पो आउनु भएको छ कि? तर कलेज त जानु नै थियो, गएँ। यस पटक भने समिरा छेउमै बस्न आइन। मेरो उसंग आँखा जुधाउने साहस त भएन नै न ऊ नै मसंग बोल्न आई। छेउमा कैलाश "ह्या, केही हुन्न डर नमान" भनेर शाहस दिइरहेको थियो। साँच्चै, उसले भनेजस्तै त्यस्तो केही भएन तर समिरासंगको मेरो दोस्ती भने तोडियो। सेमेष्टर भरी हाम्रो बोलचाल भएन।

ऊ उसैगरी मुस्कुराईरहेकी हुन्थि, नयाँ साथीहरुसंग। म अरु कोहिसंग नजिक भइन, मनमा जो ऊ थिई। मिड टर्म पछि हाम्रो टोली फर्पिङ जाने भयो। दक्षिणकालीका होचा होचा ढिस्काहरुमा हामी बुर्कुसी मार्दै खुबै रमायौँ पनि तर यसपटक ऊ मेरो छेउमा समेत आईन। मैले पहिलोपटक उस्को मित्रतालाई साँच्चिकै मिस गरिरहेँ। सायद मैले उसलाई त्यस्तो नभनेको भए हामी अझै साथी नै रहन्थ्यौँ होला। ऊ उसैगरी मेरो छेउमा हात समाउन आउँथी होला। म कतै हाम्रा सहपाठीहरुले देख्लान कि भनि डराउथेँ होला, लजाउथेँ होला अलि अलि भएपनि। मलाई त्यो बेला आफ्नो गल्तिको महशुस भयो। मनमनै उसलाई "सरी" भन्नुपर्छ भन्ने पनि लाग्यो तर हिम्मत, अहँ हिम्मतले त चन्द्रागीरीको डाँडाबाट हाम फालेर सुसाईड गरिसकेको थियो।
**********************
यतिबेला म सेकेन्ड हेन्ड जिन्दगी बिताइरहेको छुँ। सेकेन्ड हेन्ड यस अर्थमा कि म दुनियाँको लागि एउटा मृत व्यक्ति हुँ। करिब ढाई बर्ष पहिले सञ्चारमाध्यमा म बारे खबर खुब महत्वका साथ प्रसारण भएको थियो - 'इन्द्रावतीमा पौडि खेल्न गएको एक युवक नदीमा बेपत्ता।' त्यो बेपत्ता हुने म नै थिएँ। बेपत्ता हुनु मेरो रहर थियो सायद अलिअलि बाध्यता पनि।

अचेल जिन्दगी पुरै प्रकृतिको काखमा रमाईरहेछ। एकबिहानै मेरो दिनको सुरुवात गाई भैँसी अर्केको आवाज बाट हुन्छ। उत्तिस, काफल, कटुस र खरेजका रुखहरुसंग मेरो नजिकको साइनो छ। लाग्छ यीँ हरिया चहुरहरु मलाई बर्षौँदेखी जान्दछन। नजिकै बगीरहेको कलकल झरना मलाई नारायण गोपालको 'म यो शहर छोडी टाढा टाढा जाँदैछुँ....' भन्दा प्रिय भएको छ। खाली गराहरुमा सिमी र टमाटरहरुले मित्रता गाँसिरहेको भान हुन्छ। वरिपरि जंगली जनावरहरुबाट जोगाउन काँडाहरुको बार बनाएको छुँ। बजार पुग्न करिब दुई घन्टा ओरालो ओर्लनु पर्छ। कहिलेकाहिँ मैले जम्मा पारेको घ्यू र तरकारी बेच्न बजार पुग्नु बाहेक मेरो समय यहि सेरोफेरोमा बित्छ। जब टमाटरहरु पाकेर राता फर्किन्छन तब मलाई लाग्छ यी केबल तरकारी होइनन्, एउटा प्रेमीले अाफ्नी प्रेमिकालाई दिन तयार पारिएका गुलाफका गुच्छाहरु हुन। यतिबेला मात्र मलाई मेरी प्रिय समिराको याद आउँछ, प्यार र घृणा मिश्रित याद। तर किन किन म उसलाई चाहेर पनि घृणा मात्रै गर्नै सक्दिन।

अन्तिम सेमेस्टरको पहिलो दिन मैले निकै साहस बटुलेर उसलाई 'सरी' भन्ने निश्चय गरेको थिएँ। तर जब जब म उसको नजिक जान्थेँ  उ अनेक बाहाना बनाएर टाढिन्थी। त्यस्तो कुनै अवशर नै बनेन। फोन एउटा विकल्प त थियो तर उसले आफ्नो मोबाईल नम्बर परिवर्तन गरिसकेकी थिई।
मंसिर १७ गते दिनको करिब दुई बजे ऊ कक्षामा चकलेट बाँडिरहेकी थिई, उसको जन्मदिनको अवशरमा। ऊ पल्लो कुनाबाट बाँड्दै आई, साथीहरु चकलेट पाइसकेपछि 'थ्याङ्क यू' भन्दथे। जब ऊ म नजिक पुगी, मलाई एकपल लाग्यो मलाई बेवास्ता गर्छे तर अहँ गरिन। उसको ओठबाट मुस्कान बर्षाको बाढीले अकस्मात बाँध फुटाएसरी फुत्कियो। मनै पानी पानी भयो। "सरी" मेरो मुखबाट फुत्कियो, "थ्याङ्क यु" भनिरहेको सिंगो कक्षाले मलाई पुक्लुक्क फर्किएर हेर्यो। सायद उनिहरुले बुझे बुझेनन् तर उसले पक्का बुझि मेरो 'सरी'को अर्थ। त्यसैले त भनि "इट्स ओके"।

ऊ बिस्तारै पुन: मेरो मिल्ने साथी बनी। हामी फोनमा, म्यासेन्जरमा घन्टौ सम्म कुरा गर्थ्यौँ। ऊ बेला बेला भन्ने गर्थी "सुयोग, यू आर माई बेस्ट फ्रेन्ड।" यसपटक मैले बिर्सेर पनि "तिमीलाई माया गर्छुँ" भनेर भनिन। माया त मन भित्र हिउँदको सर्प गुम्सिए जसरी बसेको थियो।

कलेज सकिएको छ महिना बितिसकेको थियो। म र समिरा टचमा नै थियौँ, उही म्यासेन्जर र मोबाईलका माध्यमबाट। उसले हाम्रो बिचमा अाफनो ब्वाईफ्रेन्ड नघुसाएको पनि एक बर्ष नाघिसकेको थियो।
मैले एउटा इम्पोर्ट एक्सपोर्ट कम्पनिमा काम सुरु गरेको थिएँ। अफिसमा काम भन्दा मिटीङ बढी हुन्थ्यो। समिरा गाउँकै स्कुलमा पढाउन थालेकी थिई। एकदिन मिटिङबाट बाहिरिएका बेला मेरो मोबाइलमा समिराका एक्काईस ओटा मिसकल थिए। कल रिटर्न गरेँ। उसको निन्याउरो आवाज सुनियो, "हेलो"। "के भयो समिरा?  किन यत्तिका कल?" मैले सोधेँ। "सुयोग, भोली मेरो बिहे।" ऊ सुक्सुकाइ रहेकी थिई। एकाएक म छाँगाबाट खसे झैँ भएँ। मुखबाट एक वाक्य निस्कन पनि विश्वयुद्ध घोषणा गरे सरह भइरहेको थियो। "समिरा, बिहे नगर न है" भन्ने अधिकार सायदै मलाई थियो। केही सम्हालिएर भनेँ, "अल द बेस्ट समिरा"।
"बट आई लभ यू सुयोग।" ऊ अझै रोइरहेकी थिई।
"म के गरौँ भन त?" म अलि भावुक भएँ।
"हामी भागौँ।"
उसले यति भनेपछि मैले हुन्न भनिनँ।

साँझको पाँच बजेको नाईटमा म हुइकिहालेँ धरान तिर। भोली बिहानको चिया धरानमै हुने गरी म पुगेँ। समिराले मलाई लिन भाइलाई पठाएकी थिई बसपार्कसम्म। घरमा धुमधाम बिहेको तयारी चल्दै थियो। तीन तले घरको आगनमा छर-छिमेकी, आफन्तहरु ठुला ठुला डेक्चीहरुमा खाना तयार पार्दै थिए। दोस्रो तलाको छेउको कोठाबाट समिरा मसंग आँखा जुझाउँदै मुस्कुराईरहेकी थिई। हामी मेसेन्जरमा भाग्ने योजना बुनिरहेका थियौँ। "कसरी भाग्ने?" मैले लेखेँ। "एकछिन पछि म ब्युटी पार्लर जान्छुँ, तिमी पछि पछि आऊ, अनि सोचौँला।" उसको म्यासेजको पप् छिनभरमै मोबाइलको स्क्रिनमा पुक्लुक्क निस्कियो। म निकै डराएको थिएँ त्यसबेला, तरपनि कसैलाई आफ्नो डर देखाउने अवस्थामा थिईन।

म ब्युटी पार्लरको बाहिर कुरेको आधा घण्टा बेसी भैसकेको थियो। घरिघरि मेसेन्जर चेक गरिरहन्थेँ तर उसको कुनै जवाफ आइरहेको थिएन। ऊ आफ्नी दुई जना साथीसंग भित्र छिरेकी थिई। केहिबेर पछि श्रङ्गारका साथ  ढोकामा देखा परि, मलाई नचिनेझैँ गरि अगाडी हिँडि र मलाई पछि आउन संकेत गरि। केही पर पुगेपछि हामी संगै भयौँ। "यु आर लुकिङ ब्यूटीफुल समिरा" खै त्यो भन्न उपयुक्त समय थियो या थिएन तरपनि भनेँ। उसले कुनै प्रतिक्रिया दिइन। केही पर हामीले ट्याक्सी फेला पार्यौँ। उसले मलाई भित्र बस्न आग्रह गरि र आफु पनि बसी। "कहाँ जाने हजुर?" ड्राइभरले सोध्यो। "विराटनगर" उसले यतिमात्र भनि। ट्याक्सी आफ्नै गतिमा हुइकियो। "बिराटनगर किन?" मैले सोधेँ। "पछि थाहा पाइहाल्छौ नि" उसले मलाई यति मात्र भनिँ। म मनमनै खुसी थिएँ, मैले मेरी प्रिय समिरालाई जो पाएको थिएँ।

हामी 'द लोन्ली क्याफे' मा धरानदेखीको भोक मेटाइरहेका थियौँ। दुबै मौन थियौँ, मानौँ कि हाम्रो गन्तव्य त्यहि क्याफे थियो। केही छिनको मौनता तोड्दै ऊ बोली, "सरी सुयोग, मलाई अन्यथा नसोच, आई ह्याव अ ब्वाइफ्रेण्ड?"
"के? तिम्रा सारा आफन्तलाई तिमी मसंग भागेको कुरा थाहा भैसक्यो बुझ्यौ।"
"आई नो, बट......"
"बट ह्वाट? म इडिअट जस्तो देखिन्छुँ हो?"
"त्यस्तो होईन, तिमी मेरो मिल्ने साथी हौ, तिमीबिना सायद भाग्ने हिम्मत ममा थिएन। सरी।"
लागेको थियो उसलाई जोडले एक थप्पड हिर्काउँ तर सकिन।
"अब के गर्ने?"
"तिमी फर्क, म यता म्यानेज गर्छुँ।"
"तिमी एक्लै पनि भाग्न सक्थ्यौ समिरा या आफ्नै ब्वाईफ्रेन्डलाई पनि त बोलाउन सक्थ्यौ।"
"ऊ अहिले फोरेनमा छ, आउन समय लाग्छ नि, मैले तिमी बाहेक अरुको हेल्प लिनेँ सोच्नै सकिनँ सुयोग, सरी।"
"हेल सरी, थाहा छ समिरा? मलाई सेकेन्ड हेन्ड चिज कहिल्यै फाप्दैन नि।" म क्याफेबाट निस्किएँ, एकपटक पनि फर्केर हेर्नै मन लागेन।
"सुयोग.... प्लिज मेरो समस्या बुझ न...." ऊ केही भन्ने प्रयास गर्दै थिई तर मलाई अब बाँकी केही सुन्नु थिएन। ऊ उता 'लोन्ली क्याफे'मा आफ्नो एक्लोपनको अन्तिम सँस्कार गर्दै थिई र यता त्यहि एक्लोपनले म भित्र जन्म लिएको थियो।