फर्स्ट लभ

उ संग जम्मा दुई पटक भेट भयो, तिन पटक उसले आफ्नो प्रेमको बारेमा बताउन भ्यायो। तिनै पटक मलाई आफ्नो प्रेम पहिलो प्रेम भएको कुरा उसले भन्यो। उसले झुटो पनि बोलेको होइन बस केवल बुझाई फरक थियो।
एकदिन म सहिदगेटको छेउमा माइक्रो कुर्दै थिएँ, एउटा सज्जन आएर मलाई पर्चा थमाएर गए। जहाँ लेखिएको थियो- "तिजको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम।" तबताका म बेरोजगार थिएँ, जसले जहाँ बोलाए नि कुदिहाल्थेँ। मेरा नजर हतारहतार कार्यक्रम स्थान तर्फ गए "अडिटोरियम हल, टियू किर्तिपुर"।
 अर्को दिन निर्धारित समयमै म कार्यक्रम स्थल पुगेँ तर म पुग्दा जम्मा एकजना कार्यक्रम स्थलबाहिर भेटेँ नत्र हल त सुन्य। ऊ हलको ढोका अगाडि राखिएको बेन्चमा बसेर कालो रंगको डायरीमा केहि लेख्दै थियो। "कार्यक्रम स्थल यहि हो?" मैले नसोधीरहन सकिन। "हो" उसले अाफ्नो ध्यान भंग नगरिकन भन्यो। "तपाई आयोजक?" पुनः सोधेँ। "हैन सहभागी, रचना बाचन गर्न आएको," ऊ अझै लख्नमै व्यस्त थियो। "म समर" मैले परिचय गर्न खोजेँ। उसले लेख्न छोडेर टुलुक्क मेरो आँखामा हेर्यो र अलिकति मुस्कुराउदै भन्यो- "म रगम"। "तपाईको नाम अलि फरक छ।" मैले प्रतिक्रिया जनाएँ। "नाम त मेरो सरगम हो, तर जहिले देखि 'स' ले छोडेर गइ, मैले नामबाट पनि 'स' हटाइदिएँ र भएँ 'रगम'- सुर बिनाको संगीत," उसले बेलिविस्तार लगायो। त्यो मान्छे मलाई रोचक लाग्यो र मलाई उसले नाम बदलेको तर्क पनि गजबको लाग्यो। "आज के सुनाउनुहुन्छ त?" सोधिहालेँ। "कथा- मेरो वास्तविक प्रेमकथा" उसले जवाफ दियो। विस्तारै एक दुई गर्दै हलमा मान्छेको उपस्थिति बढ्दै गयो र छिन भरमै हल भरियो।
तिज विशेष कार्यक्रम भएकाले रचना वाचनको पालै आएन। दुई चार जनाको भाषण र एक दुई अोटा पुरूष मित्रहरूका नृत्य हेरेर फर्किनु पर्ने भयो। सोचेँ- 'अचेल त पुरूषलाई बढि तिज लाग्न थाल्यो।' फर्किनै लाग्दा सरगमलाई मैले प्रस्ताव गरेँ-"चिया पिउँ न है।" सुरुमा त ऊ हतार भएको कुरा गर्दै थियो, मैले अलि कर गरेपछि उ तयार भयो।
चिया पिउँदै गर्दा उसले चियाको सर्को सुरुप्प पार्दै भन्यो, "कस्तो कथा सुनाउन नपाको भन्या, लेख्यो लेख्यो, न कसैले सुनिदिन्छ? न कसैले छापि नै दिन्छ?" "म सुनिदिन्छुँ नि" मैले भनेँ।
प्राय कथाहरु पहिलो दिनबाट सुरु हुन्छन तर मेरो कथा अन्तिम दिनबाट सुरु हुन्छ। प्लस टु जिवनमा भरखर प्रवेश गरेको थिएँ, श्रावण महिनाको अन्तिम दिन थियो, फिजिक्स सरले एक्स्ट्रा क्लास बोलाउनु भएको थियो। क्लास अलि लामो भएकाले सरले बिचबिचमा रमाइलो गराउनु हुन्थ्यो। कसैले गित गाउँथे, चुटकिला भन्थे, म चैँ कविता भन्थेँ। केटीहरुसंग बोल्न साह्रै अफ्ठ्यारो लाग्थ्यो तर केटाहरु भने सबै साथि भैसकेका थिए।
मेरो कविता भन्ने पालो थियो, कविता सुनाउँदै गर्दा मेरा आँखा अचानक तेस्रो बेन्चमा बसेकी नयाँ केटीसंग ठोकिन पुगे जोसंग म पहिले नै प्रेममा परिसकेको थिएँ।
म एस एल सीको ट्यूसन पढ्न घरबाट आधा घण्टा हिँडेर पुग्थेँ, भट्टराई सरको घरमा। एकदिन त म एक घण्टा ढिलो मात्रै पुगेँ ट्यूसन क्लासमा, क्लास सकिसकेको थियो। कारण बडो गजबको थियो। घरबाट पन्ध्र मिनेटमात्र हिँडेको थिएँ सिदार्थ चोकनेर यौटी युवती कसैलाई कुरीरहेकी थिई। मलाई उ यति राम्री लागी कि म मन्त्रमुग्ध भएर एकोहोरो बसिरहेँ उसलाई हेरेर। उसको ध्यान मतिर थिएन, मेरो ध्यान पुरै उतिर थियो। आधा घण्टा पछि एउटा बाइक आएर उसको अगाडि रोकियो, ऊ पहिले खुब रिसाई पछि त्यहि बाइकमा बसेर गई। म हेरेको हेरेइ भएँ, खै दिमागमा के के आयो- थप आधा घण्टा सम्म त्यहि चोकमा बसिरहेँ। पछि ट्यूसन क्लास पुग्दा सबै फर्किरहेका थिए, साथीले सोधिहाल्यो - "किन ढिलो गरेको यार?" मैले केहि बोलिन, केहि पछिमात्र भनेँ-"कोहि कोहि केटीहरु कति राम्री हुन्छन है?" उसले केहि बुझेन।
ऊ त्यहि केटी थिई जसको अगाडि म कविता बाचन गरिरहेको थिएँ। एक छिन त सपना जस्तै लाग्यो, पत्यार नै लागेन, तर जब ऊ त्यहि केटी भएको निश्चित भयो, म मनमनै खुबै खुसी भएँ। अब त क्याम्पस पनि रमाईलो लाग्न थाल्यो। बिस्तारै केटीहरुसंग पनि घुलमिल भएँ।
मेरो सबैभन्दा मिल्ने साथि भएकि थिई 'सलिना'। सलिना म संग खुबै मिल्थी, सबै कुराहरु मसंग भन्थी तर मेरो मन हुन्थ्यो उतैतिर, चोकमा भेटाएकि केटीतिर। सलिना मार्फत उ संग पनि नजिक भएँ, थाहा पाएँ उसको नाम रैछ 'सपना'।
समयसंगै म सपनासंग नजिक भएँ। हाम्रो नयाँ ग्रुप बन्यो पाँच जनाको- सपना, मधु, लिसा, म र कल्पेस। म सपना संग नजिक भएकोले होकि खै? बिस्तारै सलिना मसंग टाढिई। तर कक्षामा भने ठुलै हल्ला थियो 'सरगम सलिनालाई मन पराउछ।' बेलाबेलामा सपना पनि मलाई त्यहि भनेर जिस्क्याउँथि तर म खुब रिसाउथेँ, उ 'सरी' भन्थी। जब म लामो समय सम्म रिसाईरहन्थेँ, म रिसाएको देखेर उल्टै उ नै रिसाइदिन्थी। म उसलाई फुल दिन्थेँ, चिठी लेख्थेँ, उसकै पछि पछि हिँडेर गित गाउथेँ र अन्तिममा कान समातेर भन्थेँ 'सरी'। ऊ खुलेर हाँस्थी र भन्थी -"नो सरी नो थ्याङ्क्स इन फ्रेन्डसिप"। अब हामी प्रायजसो फोनमा कुरा गर्न थालेका थियौँ। फोनमा भन्दा बढी म्यासेजमा कुरा हुन्थ्यो। बिस्तारै हाम्रा म्यासेज मित्रतालाई नाघेर प्रेमको परिधिभित्र प्रवेश गर्न थालेका थिए। तर हामीले मुखै फोरेर एक अर्कालाई माया गर्छौँ नै भनिसकेका थिएनौँ। भन्थ्यौँ त केवल साथी भन्थ्यौँ।
एकदिन कलेजबाट घर फर्किदा ऊ मेरो हात समाएर हिँडिरहेकी थिई मैले प्वाक्क भनिहालेँ "हात छोड -तिम्रो ब्वाईफ्रेन्ड रिसाउला नि फेरी।"
"तिमी त मेरो बेस्ट फ्रेन्ड, ब्वाई फ्रेन्ड भाको भए तिमीलाई छ भन्दिन थेँ होला त।"
"म प्राय तिमीलाई एउटा केटाको बाइकमा देख्छुँ त।"
"बाइकमा बस्दैमा ब्वाईफ्रेन्ड हुन्छन त? मेरो दाई नि।"
उसले यति भनि, तरपनि मैले उसलाई कहिल्यै 'माया गर्छुँ' भन्न सकिन, किनकि म उसको मित्रता गुमाउन चाहान्न थेँ।
एकदिन ऊ कक्षामा बिरामी भई- बेस्ट फ्रेन्ड भएका नाताले मैले नै उसलाई घर सम्म पुर्याउनु पर्ने भयो। ऊ मेरो साइकल पछाडि थिई-उसका हात मेरो कम्मरमा बेस्सरी अडिएका थिए। करिव आधा घन्टा लाग्यो उसको घर पुग्न। त्यो पल लाग्यो म मेरो पुरै जिन्दगी उसंग साईकलमा बिताइदिन सक्छुँ। ऊसको घरमा पुगिसकेपछि मैले सोधे- "घरमा कोहि पनि छैनन् त, बुवा-मम्मी खै?"
"अफिस" उसले भनि।
"ओके, आई ह्याव टु लिव, सि यु नेक्स्ट टाएम।"
"प्लिज सरगम, डन्ट लिभ मि अलोन।" उसले यति मात्र के भनेकी थिई उसको यति माया लागेर आयो, गएर सिधै ओठमा किस गरिदिउँ झै भयो तर मैले आफुलाई नियन्त्रण गरेँ।
मैले उसको लागी खाना तयार गरिदिएँ, हामीले संगै मिलेर खाना खायौँ। एउटै बेडमा पल्टीयौँ र टीभी हेर्न थाल्यौँ। मेरो ध्यान त के टीभी तिर हुनु पुरै उतिर थियो। बिचमा उनलाई खै के भएछ कुन्नी, भनिन -"सरगम, यु आर माई बेस्टी।"
"ह्वाई?"
"बिकज आई नेभर ह्याव एनिवन बिफो।"
"यु टु आर माइ बेष्ट फ्रेन्ड" मैले प्रतिक्रिया दिएँ। त्यसपछि हामी चार नबजुन्जेलसम्म गफियौँ। त्यो दिन म उसका बुवा आमा अफिसबाट फर्किएपछि मात्र घर आएँ।
हामी खुला मन्चको छेउमा संगै हिँडिरहेका थियौँ, म उसलाई पुत्याउन उसको घर जाँदै थिएँ, मैले उनलाई सोधेँ -" सपना, तिमीलाई के लाग्छ, हामी साथि मात्र हौँ? या साथि भन्दा बढि?" "वी आर जस्ट फ्रेन्ड, हाम्रो फ्रेन्डसिप तोड्ने मन छ भनेँ मात्र त्यो भन्दा बढि सोच्नु बुझ्यौ।" उसले भनि। अब म बाँकी के भनु, मेरो आशाको ढोकामा भोटेताल्चा झुन्डिएको थियो जसलाई तोड्ने हिम्मत ममा थिएन।
'सबैभन्दा प्रिय मानेको छ, मेरो मनले तिमीलाई छानेको छ' लेखिएको म्यासेज मेरो मोबाइलमा आयो- सपनाको थियो। अर्को दिन सोधी-"म्यासेजको अर्थ बुझ्यौ?" "अहँ बुझिन- भन्न तिमी साथीभन्दा बढि सोच्न नपाइने भन्छौ, म्यासेज के के अर्थ भएको लेख्छौ।" मेरो जवाफ थियो। ऊ खुलेर हाँसी मात्र केहि बोलिन, तर केहि छिन सोचेजस्तो गरेर भनि -"तिमी हतार नगर क्या, सबैकुराको अाफ्नै समय हुन्छ।"
सम्बन्धमा अलि उतारचढाव आएपनि हामी साह्रै मिल्ने साथी भएका थियौँ। कक्षामा संगै बस्थ्यौँ, एकअर्काका नोट सार्थ्यौँ। संगै मिलेर खाजा खान्थ्यौँ, जे पनि संगै।
यो मेरो फर्स्ट लभ थियो तर वान साइडेड ।भ्यालेन्टाइनको दिनमा मैले दुई ओटा गुलाफ बोकेको थिएँ, एउटा रातो र अर्को सेतो। रातो गुलाफ लुकाएरै राखेँ, दिने हिम्मतै आएन, सेतो गुलाफ दिएँ र बदलामा पनि सेतै गुलाफ पाएँ। "रातो गुलाफ किन नदिएको?" उसले सोधेकी थिई।
यति भनिसकेपछि उसले चियाको अन्तिम सिप लियो। "अनि त्यसपछि के भयो ?" मैले सोधेँ। घडि हेर्दै उसले भन्यो-"ओहो, छ बजिसकेछ, पछि गाडि पाईन्न म हिडेँ है," यति भनेर ऊ पछि नै नफर्कि हिड्यो, म ट्वा परेर उभिरहेँ।
दशैँको विदामा म कर्णाली यातायातको बसमा घर फर्किदै थिएँ, नारायणघाट नपुग्दै गाडि बिग्र्यो। "नजिकै होटल छ, तपाईहरू नास्ता गर्दै गर्नुस, म गाडि बनाएर ल्याउछुँ।" ड्राइभरले यति भनेपछि हामी करिव पाँच मिनेट जति हिँडेर एउटा होटलमा पुग्यौँ-"महिमा होटल"। मसंगै थिईन मेरी क्लासमेट 'बैष्णवी'। होटल यति भरिभराउ थियो कि, मनै भरियो, हामी भित्र पस्दै पसेनौँ। होटलबाहिर राखिएका कुर्सीहरु भने खाली थिए, हामी तिनै कुर्सीहरूमा गएर बस्यौँ। "छ्या चुरोटको धुवाँ, सार्वजनिक ठाउँमा धुम्रपान निषेध भन्ने थाहा छैन कि क्या हो?" बैष्णवी ठुलै स्वरमा कराईन। हामी पछिल्तिर बसेको युवकले 'सरी' भन्दै चुरोट भुईमा फ्याक्यो र जुत्ताले बेस्सरी निमोठ्यो। मैले पुलुक्क पछिल्तिर हेरेँ, ऊ उहि व्यक्ति थियो, जसले मलाई अधुरो कथा सुनाएर फरार भएको थियो।
औपचारिक हाई हेलोपछि मैले सोधिहालेँ-"घर नै यता कि, कतेे जाँदै?" "यो होटल नै मेरो" गर्वका साथमा उसले भन्यो।
"व्यस्त हुनुहुन्छ उसोभए।"
"केको व्यस्त हुनु? काम गर्ने मान्छेहरु छन थुप्रै, यसो बसिदिनुपर्छ।" उसले भन्यो।
"फुर्सद भए तपाईको बाँकि कथा सुन्ने मन थियो" मैले आफ्नो मन खोलेँ।
"कथा कहाँसम्म पुगेको थियो याद छ?"
"सेतो गुलाफ दिएसम्म, त्यसपछि के भो?"
"उसले मलाई सेतो गुलाफ दिई, तर मलाई थाहा थियो ऊ मलाई सार्है मन पराउँथी तर मलाई भने उ त्यति राम्री लाग्दैनथी," एकछिन रोकिदै उसले भन्यो -"हेर्दा त राम्री थिई तर मलाई उसलाई देखेर त्यो लभ वाला फिलिङ आउँदैन थ्यो।"
"एकछिन, एकछिन" मैले उसलाई रोकेँ, "कथा त यस्तो थिएन।"
"ए तपाईलाई सपनावाला कथा सुनाथेँ है, त्यो त प्लस टुमा हुँदा साह्रै मन पराउथेँ, आजकल कता छे थाहा छैन।"
"त्यो कथा के भो?"
"इनफ्याचुएसनको कथा नि के लेख्ने सोचेर त्यो त च्यातिसकेँ मैले, यो मेरो फर्स्ट लभको कथा हो, सुन्ने?"
गाडि बन्ने कुनै सुरसार नभएकाले मैले समय बिताउनलाई नै भएपनि 'हुन्छ' भनेँ। बैष्णवी खुप चाख मानेर हाम्रो कुरा सुनिरहेकी थिईन।
             सुनिता मेरो जुनियर थिई, गोरी, राम्री थिई। उसका साथीहरु सबै मलाई 'दाई' भनेर सम्बोधन गर्थे तर उसले कहिले मलाई 'दाई' भनिन। तर 'हजुर' भनेर सम्बोधन भने गर्थी। मलाई जहिले अाफ्नो घरमा आएर बुवा बहिनीसंग भेट्न आग्रह गर्थी। मलाई ऊ आफुले भेटेका केटाहरु मध्य इमान्दार र मेहनती ठान्थी। उसका कुराबाट मलाई के ज्ञात हुन्थ्यो भनेँ, उ सायद हरेक दिन घरमा बुवा बहिनीसंग मेरो बारेमा कुरा गर्थी। ऊ मलाई हरेक अवशरमा शुभकामना दिन्थी र साह्रै नजिकिन्थी पनि।
            उसको मेरो नजिक हुनुको अर्को कारण- ऊ पनि कविता लेख्थी। ऊ मलाई कहिल्यै कुनै कुरामा नाईँनास्ती गर्दिनथी। म ठोकुवा गरेर के भन्न सक्थेँ भने ऊ मलाई मन पराउथी, सायद माया गर्थी। उसको पछाडि कलेजका धेरै केटाहरु लागेको कुरा साथीहरुमाझ हुन्थ्यो तर ऊ हरेकलाई इग्नोर गर्थी। उसैलाई लिएर मेरा साथीहरु मलाई 'लक्कि ब्वाई' भन्थे। हामीहरु प्राय संगै हुन्थ्यौ, सायद कतिपयले हामीहरुलाई 'ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड'को रूपमा पनि हेर्थे होलान।
             "हाम्रो बारेमा मान्छेहरु नानाथरी कुरा काट्छन, हामी संगै नहिडौँ है" एकदिन मैले उसलाई भनेँ। "यो कुराले मलाई कुनै फरक पार्दैन" उसले प्रतिक्रिया दिएकी थिई।उ गजबकी थिई, उसका आफ्ना वेग्लै बिचारहरुको संसार बनाएकि थिई, जुन बिचार कुनै वाह्य तत्वले परिवर्तन गर्न सक्दैन थ्यो। ऊ भन्ने गर्थी -"हामी जे चाहान्छौँ त्यो पाउन्नौँ, जे पाउछौँ त्यो चाहान्नौँ तर जब हामीसंग चाहेको कुरा हुँदैन नि, हामीले त्यहि चाहानुपर्छ जे हामीसंग हुन्छ।" जो कोहि उसको प्रेममा सजिलै पर्न सक्थ्यो त म परिन।
             महिनाको अन्तिम शुक्रबारको दिन कक्षाका सबैजना हलमा जम्मा भएका थिए, कुनै कार्यक्रम हुँदै थियो सायद। म टाउको दुखिरहेकाले कक्षामै बसिरहेको थिएँ, ऊ मलाई खोज्दै खोज्दै त्यहिँ आइपुगी। म विरामी भएको थाहा पाएर ऊ साह्रै दुखी भइ। रेडक्रस सेक्सनबाट केहि औषधी ल्याएर खान दिई र निकै बेर मेरो टाउको सुम्सुम्याइरही। त्यो एउटा पल थियो मलाई पहिलोपटक उसको माया लाग्यो तर म उसलाई जिन्दगीको गोरेटोमा संगसंगै हिँडाउन सक्दिनथेँ। "समर, जब हजुर र म बुढा हुनेछौँ, मर्नुभन्दा अघि एकपल्ट भेटौँ है।" उसले मौनता तोडि? उसको त्यो प्रश्नले मेरो दुखेको टाउको कता भाग्यो कता, म प्वाक्क बोलेँ -"अनि त्यसपछि तिमी र म डेटीङ जाम्ला है।" उ एकछिन हाँसी र फेरी भावुक हुँदै भनि -"म हजुरले त्यो पल 'वा जिन्दगी क्या रमाईलो थ्यो, मजा आयो भनेको' सुन्न चाहान्छुँ के।" "तिम्रो बुढोले भेट्न नदेला फेरी।" 'तिमी नै त हुन्छौ मेरो बुढो' सायद उसले भन्न चाहेकि थिई तर केहि भनिन हाँसी मात्र।
               म ऊ संग झगडा गर्न नाना थरि वाहाना खोज्थेँ- अहँ मेरो कुनै कुराले उसको चित्तै दुखेन। मैले उसलाई इग्नोर गर्न सुरु गरेँ, तर ऊ रत्तिभर टाढा भइन। खै त्यो के कुरा थियो जसले मलाई उसको नजिक हुन, उसलाई माया गर्न रोकिरहेको थियो- म थाहा पाउन सकिरहेको थिइन। म उसलाई टाढा बनाउनकै लागी पनि अरु नै कुनै केटीलाई मन पराएको बाहाना गर्थेँ तर उ यो कुराले उसलाई केहि फरक नपारेको जस्तो देखाउन खोज्थी तर उसको अनुहारको भाव हेरेर मलाई थाहा हुन्थ्यो, यो कुराले उसलाई कति पोल्थ्यो भनेर। एक दिन उसको मन चोर्ने उदेश्यले मैले सोधेँ-"सुनिता, डु यू लाईक मी?" सायद 'आइ लभ यू' भनेको भए ऊ 'आई लभ यू टु' भन्थी होला तर यो उसको लागी साह्रै गाह्रो प्रश्न थियो। उसले अनुहार रातो पारेर , केहि हडबडाएर भनि 'नो', अरु पनि केहि भन्न खोज्दै थिई, उसको जिब्रो नै चलेन र पुनः भनि 'नो'।
                       क्याम्पसको बार्षिकोत्सवको लागी म उदघोषकको लागी छानिएको थिएँ र उदघोषिका छान्ने जिम्मा नि मैले नै पाएको थिएँ। मैले धेरैलाई उदघोषणको लागी आग्रह गरेँ तर सुनितालाई गरिन किनकी ऊ नाईँ भन्नेवाला थिइन। उ आफुलाई नसोधेको भनेर दुख मान्ली भनेर घुमाउरो पारामा भनेँ -"सुनिता तिमी उदघोषण नगर है, तिम्रो आवाज सानो आउँछ।" उसले मेरो कुरा मान्छे भन्ने मलाई थाहा थियो र उसले 'हुन्छ' नै भनि। मैले हाम्रै साथी सरलालाई उदघोषणको लागी छनोट गरेँ। अर्को दिनदेखी हलमा रिहर्सल गर्ने हाम्रो योजना बन्यो।
               तर अर्को दिन सरला रिहर्सलमा आइन, फोन गरेँ- उसले उदघोषण गर्न नसक्ने कुरा सुनाई। मैले उसलाई कारण सोधेँ, ऊ कारण भन्न तयार नै थिइन। निकै कर गरेपछि सुनितालाई नभन्ने सर्तमा उसले भनि -"सुनिताले मलाई भेटेर उदघोषण नगर्न भनि, उ मेरो अघि रोई पनि, सरगमसंग मेरो उदघोषण गर्ने ठुलो रहर छ भन्थी तैपनि मैले नमानेपछि -जेपनि हुनसक्छ भनेर धम्कि दिएर गई, यस्तो अवस्थामा म उदघोषण गर्न सक्दिन, सरी।" यति भनेर उसले फोन राखी। मेरो दिमागमा एक किसीमको तरंग नै आयो तुरन्तै गएर सुनितालाई गएर जोडसंग थप्पड कसेँ। पछि कार्यक्रम उदघोषण म एक्लैले गरेँ। सुनिता मलाई 'सरी' भन्न खोज्थी तर म उसंग भेट हुनसक्ने सम्भावित ठाउँहरु जान नै छोडेँ, फोन पनि रिसिभ गरिन। केहि समयपछि परिक्षा आयो र उसंग मेरो लामो समयसम्म भेट भएन।
  एकदिन उसले मलाई नारायणीको पुलमा भेट्न बोलाई। मलाई यो अलि अनौठो लाग्यो किनभनेँ यसरी उसले कहिल्यै भेट्न बोलाएकि थिइन। उसका अाँखा साविकभन्दा अलि राता देखिन्थे र आँशु नै झर्लान झैँ टिलपिल गर्दै थे। "के भो? किन बोलाको?" नजिक नपुग्दै सोधिहालेँ। "त्यत्तिकै" पहिले त उ भन्नै अनकनाई, "घरमा मेरो बिहेको कुरा चलिरहेको छ, मलाई बिहे नै गर्न मन छैन, मेरो घरमा गएर सम्झाइदिनुसन प्लिज," केहिबेरपछि भनि।
"केटा के गर्छ?"
"इन्जिनियर, अमेरीकामा"
मैल आँखा साविकभन्दा केहि ठुला पार्दै भनेँ -"धत लाटी, खुरुक्क हुन्छ भन।" कर्कलाको पानी भुइँमा झरेझैँ उसका आँखाबाट पनि आँशु झरे। "हुन्छ, तर हजुर आउनुपर्छ नि मेरो विहेमा नत्र त गर्दिन।" उसले यत्ति भनि र फर्केर गई।
बैष्णवीलाई कथा साह्रै चाख लागेछ, सोधिहाली-"अनि त्यसपछि के भो?" उसले यति सोध्न नपाउँदै 'प्वाँ, प्वाँ' हर्न बजाउँदै गाडि आइपुग्यो। हतारमा सरगमलाई जान्छौँ पनि नभनेर हामी गाडिमा पस्यौँ। सरगमको अनुहारले भन्दै थियो -'आधा कथा सुनेर फरार हुनेहरु।'
केरिब एक बर्ष तिन महिना पछि मैले सरगमलाई फेसबुकमा भेटाएँ। उसको प्रोफाईलमा क्लिक गरेँ, प्रोफाइलको तलपट्टी फेसबुकले देखाएको निलो नोटीफिकेसनमा लेखिएको थियो-'म्यारिड विथ बिमला'। मैले उसलाई रिक्वेस्ट पठाए र कहि बेरमै उसले एसेप्ट पनि गर्यो। मेरो पहिलो म्यासेज थियो-"माया यौटासंग, बिहे अर्कोसंग"
रिप्लाई आयो-"जसलाई मैले बिहे गरेको छु उ नै मेरो पहिलो प्रेम हो। जसलाई मैले मन पराएँ उसले मलाई पराइन, जसले मलाई मन पराई उसलाई मैले मन पराइन तर जसलाई मैले बिहे गरेँ, हामी दुबै एक अर्कालाई मन पनि पराउथ्यौँ र माया पनि गर्थ्यौँ। द्याट्स ह्वाई इट इज आवर 'फर्स्ट लभ'"
म प्रतिक्रियाविहिन भएँ।