अकस्मात

सत्य सधैँ सत्य नरहन सक्छ।
जस्तै,
एउटाको पुर्व,
अर्कोको पश्चिम भइदिन सक्छ।
जस्तै,
संसार सधैँ,
डार्विनको उत्पतिको नियममा नचल्न सक्छ।
हो,
प्रकृतिको विकाश, क्रमिक परिवर्तनमा आधारित छ,
तर,
केही कुराहरु अकस्मात भइदिन्छन।
जस्तै,
हाम्रो प्रेम।

एउटाको पुर्व,
अर्कोको वर्तमान भइदिन सक्छ।
जस्तै,
प्रेमिका।
संसार सधैँ,
डार्विनको उत्पतिको नियममा नचल्न सक्छ।
केही कुराहरु अकस्मात भइदिन्छन।
जस्तै,
हाम्रो बिछोड।

जे देख्यौ, त्यहि सत्य नहुन सक्छ।
दृश्य र आवाजहरु,
हाम्रो दिमागले सम्पादन गरिदिन सक्छ।
मस्तिष्कले प्रिबमको नियममा
काम नगरिदिन सक्छ।
त्यसैले,
जे देख्यौ, र जे सुन्यौ,
त्यो अन्तिम दृष्य हैन,
त्यो अन्तिम श्रव्य हैन।
नदेखिने र नसुनिने,
धेरै कुराहरु हाम्रो वरिपरि हुनसक्छन,
उदाहरणका लागि मलाई हेर।
तिम्रै वरिपरि छुँ
तर, सक्दैनौ महशुस गर्न,
अकस्मात।

अकस्मात देखिएँ तिम्रो बस्तिमा,
र अकस्मात हराएँ।
हो,
मसंग वेपत्ता हुनसक्ने अदभुत कला छ।
तर, निष्कर्ष निकाल्न हतार नगर्नु,
जे बुझ्यौ,
त्यो समझ परिवर्तन भइदिन सक्छ,
अकस्मात।
जस्तै,
तिम्रो जिन्दगीमा मेरो कामै नभएजस्तो देखिएपनि
समयले मेरो अभाव जरुर खड्काउने छ।

©Samarpit 2019
picture:www.quotesplant.com