एउटा जंगलमा


दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
जहाँ सन्नाटा थिएन हरदम
यदाकदा गोरेटोमा भेटिन्थे
थरीथरीका जनावरहरु
डराउनु नपर्ने
नदेखेझैं तर्केर हिँड्थे ।
डढेलो थियो कि खै के ?
मुस्लो उडिरहन्थ्यो धुवाँको।

जहाँ ठूला ठूला ओडारहरूमा
साना साना प्राणीको रोदन सुनिन्थ्यो ।
स्याँ स्याँ सुँ सुँ, घ्या घ्या घुँ घुँ
धेरै घट्टहरूको आवाज
सन्नाटा चिर्दै गुन्जन्थ्यो
रातमा जुनकीरीहरूले
न्याउले लगाउँथे चारैतिर ।

जहाँ, बुद्धत्व पाउन आएका
बुद्धहरु भेटिन्थे
भेटिन्थे भगवान खोज्दै हिँडेका
तीर्थालु व्रतालुहरू
कोही बाध्यताले
कोही रहरले
आएका सिपालुहरू

दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
बल्ल थाहा भयो
यो त कङ्क्रिटको जङ्गल रहेछ
गुफा हैनन् घर पो थिए
बिजुलीका जुनकीरीहरु
घट्टरुपी गाडीमा सवार रहेछन्
जो जसलाई जनावर सोच्दथेँ
तिनिहरु जनावर रहेनछन।
PS: IUCN



published on Ratopati