पुन्जिता

पुन्ज पुन्ज मिलेर बनेको तिम्रो अनुहार
त्यति प्रिय त कहिल्यै भएन मलाई।

अोठमा गुलाबका पत्रहरु सजाएर
गोरा मुलायम गालामा
केही थप रंग भरेकी
सायद ऊ संग त दर्पण पनि
डाहा मानेर चर्कियो होला।
सुस्त सुस्त कलात्मक चाल
लाग्थ्यो मृग नाचिरहेछ सामु
रेसा रेसा केशहरु
सुनगाभा झैँ लहरिरहेका।
पुष्ट वदन शिष्ट नितम्ब
यौटा सिल्पकारले निखारेको
मुर्ति हुनसक्थि ऊ।
म झन्डै परिन प्रेममा उसको।
अहँ परिन
किनकि,
ऊ जे देखिन्थि त्यो थिईन
जे थिई देखिनै सक्दिनथि।

पुन्ज पुन्ज मिलेर बनेको तिम्रो अनुहार
त्यति प्रिय त कहिल्यै भएन मलाई
नाक हेर्दा साँच्चै नेप्टि
नयन?
बिरालो सुन्दर हुन्छ
यदि नयन तुलना गर्दा।
कपाल?
तिम्रो जस्तै कपाल त
हाम्रा भिर पाखामा फल्छ।
उचाई?
घरमा बत्ती निभाउन सक्छौ नि?
अनुहार?
लाग्थ्यौ मानौँ कागकै आफन्त।
जिउडाल?
तिमी मादल कि मादल तिमी?
तर,
तिमी जे देखिन्थ्यौ त्यहि थियौ
जे थियौ त्यहि देखिन्थ्यौ।

पुन्ज पुन्ज मिलेर बनेको तिम्रो अनुहार
त्यति प्रिय त कहिल्यै भएन मलाई
जति प्रिय तिमी भयौ, जति प्रिय तिम्रो बचन
पहिलो भेटमै आभास यस्तो
बर्षौँ पहिले भेटेको जस्तो।
मानेँ म तिम्रो राम होइन
तिमी को हौ?
ए पुन्जिता??