घर

घर
    
मेरो पुरानो घर
भत्केको छानो
कति सुविधाजनक छ,
बर्षामा भिज्नलाई
बाहिर निस्कनु
नपर्ने सुविधा
सिरसिरे हावामा
धर्तीमै खान्छौँ कावा
पुस माघको मासमा
ताप्छौँ घर भित्रै घाम

यो घर
जसलाई बनाउन मेरा बाले
मलाई उपहार दिनुभयो
आफ्ना सम्पुर्ण सपनाहरु
बिसौँ बर्ष
आधा छाक खाएर
अनि मेरी आमाले
सजाएको हो
यो मेरो घर।
म आज
मेरो बाले दिएका सपनाहरु
सुर गर्दैछु
सन्तानलाई सौगात दिने
र बनाईदिनेछुँ
उसको निम्ति एउटा घर
यो भन्दा पनि सुन्दर,
र विशाल घर..
अवश्य बन्ने छ
विशाल भवन
बन्ने छैन घर

जहाँ पानिले भिजाएका
रहने छैनन बस्त्र
हुनेछैन
कोमल वायुको सितलता
मध्यरातमा स्वर्गबाट झरेको
अमृत रस
निधारमा चुहिनेछैन
उ देखीरहने छ
घरलाई ईँटा र कंक्रिट
त्रिपालभित्र हामीले
कैयन रात बिताएका बेला
कसैले सोधे "खै तेरो घर"
देखाइदिन्थेँ म
त्यहि जर्जर
अाज सोचिरहेछु
मेरो सन्तान
म जस्तै भाग्यमानी हुनेछैन
Previous Next

نموذج الاتصال