घर र विश्वविद्यालय

"ल, अब यता।" " उ, त्यो झार पनि निकालौँ।" "यो घाँस पनि मिलाउने।" "पोस्टर पनि फालौँ।" "माकुराको जालो पनि निकालौँ है।" 

को प्रोफेसर? को विद्यार्थी? को कर्मचारी? असोज ११ गतेको शुक्रवार त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभागमा सबै जना, विभागको शैक्षिक तथा प्रशासनिक भवनको सरसफाइ तथा मर्मत  सम्भारमा व्यस्त थिए। कसैले हातमा कोदालो भिरेका, कसैले बेल्चा, कोही ब्रस भित्तामा घोट्दै थिए त कोही फर्निचर सार्नमा व्यस्त। 

"वोए प्रकाश, यो बोक्नु पर्‍यो के।" कसैले बोलायो। हामी पाँच जना 'प्रकाश'ले पुक्लुक्क हेर्‍यौँ। "भएन, नाम चेन्ज गर्नु पर्‍यो के, जता नि प्रकाश नै प्रकाश," आचार्यको आवाज आयो। हामी सबै जना फर्निचर सार्न थाल्यौँ। "पृथ्वी, एउटा फोटो यता नि लेउ न," आज्ञाले भनि। पृथ्वी मुसुक्क मुस्कुरायो। "प्यारे दाइ, यता पानी आएन," कसैले गुनासो गर्‍यो। भोज प्यारे दाइलाई सहयोग गर्न दगुर्‍यो। 

तेस्रो सेमेस्टरका चार ओटै सेक्सनका विद्यार्थीहरू सँगै काम गरिरहेका थिए, जो प्राय एक अर्कालाई चिन्दैनथे। "तिम्रो नाम के रे?" पोस्टरहरुको खत, ब्रसले झार्दै गर्दा अनुले सोधी। ऊ जहिले मेरो नाम मात्रै सोध्छे।

"खै, त्यहाँ एक फेर पानी हालौँ," शङ्कर सर भित्तामा पानी छर्कदै हुनुहुन्थ्यो। "उ त्यहाँ पनि छर्कनुस् सर," दिवाकर सरको भावुक ध्वनि सुनियो। उहाँ  पनि सरसफाइमा मग्न हुनुहुन्थ्यो। अनिरुद्र सर कालो चस्मामा सजिएर जिवलाल सरसंग गफिरहनु भएको थियो। खुसीको एउटा सर्को उहाँहरुको मुहारमा देख्न पाइन्थ्यो।

कुनै बेला झारहरुले गुमुक्क रहने भवनमा केही उज्यालोपन थपियो। चिटिक्क देखियो। अनि सबै जना खाजा खानमा व्यस्त भए। "ल भोलि चाहिँ रंगरोगन गर्ने है," लक्ष्मण सरले भन्नुभयो, "रङ्ग लगाउन जान्नेहरुले भोलि आउनै पर्छ।" मैले मेरो गाउँ सम्झेँ।

आमाले कमेरो मिलाउनु हुन्थ्यो, बाबाले त्यही कमेरो बाबियाको कुचोले पोत्नुहुन्थ्यो घरको माथिल्लो आधिपट्टि भागमा। उहाँको कपाल र लुगामा राता र सेता थोप्लाहरुको कलात्मक ढाँचा तयार हुन्थ्यो। "बा, हजुरलाई कमेरो र रातो माटोका टाँटाहरु कस्तो सुहाउँछ।" बा खिस्स हाँस्नुहुन्थ्यो। हरेक दसैँ मलाई यस कारण पनि खास लाग्दथ्यो, किनकि हामी घर लाई रंगाउथ्यौँ; सजाउँथ्यौँ एउटा नयाँ दुलही जस्तै। पछिल्ला दसैँहरूमा बा को ठाउँ मैले लिएँ। बाका कपालका ढाँचाहरू मेरो कपालमा सर्न थाले। "बा, दसैँअघि घर किन रंग्याउने?" कहिलेकाहीँ बालाई म सोध्थेँ। "आफू बसेको ठाउँ रंग्याउँदा लक्ष्मीको वास हुन्छ," उहाँ जवाफ दिनुहुन्थ्यो।

"भोलि शनिवार रङ्ग लगाउन पनि आउनु पर्छ," साथीहरू सँगै मैले पनि निश्चय गरेँ। सायद, बस्ने ठाउँ रंग्याउदा लक्ष्मीको वास भए जस्तै, पढ्ने ठाउँ रंग्याउदा सरस्वतीको वास हुन्छ होला।

 "ओए, तिमीलाई रङ्ग लगाउन आउँछ?" चन्द्रले सोध्यो।
"आउँछ नि, कमेरो दले जस्तै त हो।" म मुस्कुराएँ।

This article has been published on Nepalitribune